काठमाडौं , माघ २९। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सरकारको समेत ५ प्रतिशत लगानी रहने गरि नेपालको पूर्वाधार क्षेत्रमा एनआरएनएको लगानी बढाउने उद्देश्यले उक्त कोष स्थापना गर्न लागिएको हो ।

बिहीबार अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकम सहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरेका छन् ।
सो अबसरमा उनले विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको समेत बताए ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।