काठमाडौँ । नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराख्न र तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
हुम्लाको नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्लाको सदरमुकाम सिमिकोट फर्किएको २४ घण्टा हुँदा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमा सम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रजिअलाई स्पष्टीकरण र स्थलगत अध्ययनको विवरणसमेत सार्वजनिक गर्न गरिएको ढिलाईले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको कांग्रेसको भनाइ छ।