पहिरो अपडेट ४ बेपत्ता ६ जनाको मृत्यु ।

२०७७, ८ आश्विन बिहीबार ०५:५५
फाईल फोटो

स्याङ्जाको वालिङ र कालीगण्डकी पहिरोमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अविरल वर्षापछि वालिङ नगरपालिका वडा १४, तमादीकी माया नेपालीको घरमाथिबाट आज बिहान ६ बजेतिर खसेको पहिरोमा पुरिँदा ६ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता छन् ।

मृत्यु हुनेमा ४८ वर्षीया माया नेपालीसहित २७ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली हुन् । बेपत्ता ४ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनायो । पहिरोमा पुरिएकी १६ वर्षीया मनीषा नेपालीलाई भने जीवितै उद्धार गरी उपचारार्थ गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको छ ।

पहिरोमा एकै परिवारका १० जना पुरिएकामा सर्वप्रथम माया नेपालीको शव फेला पारिएको हो । मनिषालाई जीवितै उद्धार गरी उपचारार्थ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा थप उपचारार्थ पोखरा पठाइएको हो ।

उद्दारका लागि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको कमाण्डमा ११ जना र नम्बर ३० गुल्म हेकुवा वालिङबाट सप्रनाउ मोहन न्यौपानेको कमाण्डमा ११ जनाको टोली गएको थियो । प्रहरीले स्थानीयको सहयोगमा उमाकला, दीपक, सानी र विवशको शव बाहिर निकालेको हो ।

अन्य ४ जनाको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उता, स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४, गौतमडाँडाका बाबुराम दमाई र जगतबहादुर दमाइको घरमाथिबाट बिहीबार बिहान करिब ३ बजे खसेको पहिरोले दुवै घर पुरिएका छन् ।

पहिरोमा बाबुरामका १६ वर्षीय छोरा विष्णुको मृत्यु भएको छ । प्रहरी चौकी बिर्घाबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बिहीबार बिहान साढे ५ बजे पहिरोबाट विष्णुको शव बाहिर निकालेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु