किसानलाई मलको हाहाकार, सरकार कोभिडको बहानामा

२०७७, २६ भाद्र शुक्रबार ०७:५४

काठमाडौँ – सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ । संकटको बेलामा सहजै मल नपाउँदा किसानहरु झनै समस्यामा परेका छन् । मल नपाउँदा धान उत्पादन नै नहुने हो कि भन्ने चिन्तामा किसानहरु छन् ।

धान बालिमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन्। धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई यतिबेला सास्ती छ । एकातिर कोरोना भाइरस संक्रमणको जोखिम अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ । मल किन्न बिहानै देखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकी नै बनेको छ । कोभिड १९ संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल नपाउने चिन्ताले सताएको छ ।

मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ । तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात शून्य छ । जसका कारण पनि किसानहरुले मल पाउन सकेका छैनन् । यसरी किसानहरूले समयमै मल र बिउ नपाउने समया नयाँ होइन । यो समस्या हरेक वर्ष देखिदै आएको छ । सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिदा किसानहरु कोभिड १९ संक्रमणको जोखिम मोलैरै मलको खोजीगर्न बाध्य भएका छन् ।

सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले भने कोभिड १९ संक्रमणको प्रतिकुल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको दावी गरिन् ।

Comments

ताजा खबर