झापामा धार्मिक पर्यटक र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य

२०८०, १३ मंसिर बुधबार १६:२१

अर्जुनधारा

झापाको पर्यटकीय गन्तव्यहरुमध्ये प्रमुख गन्तव्य हो, पूर्वको पशुपतिनाथ नामले चिनिने  अर्जुनधारा–जलेश्वरधाम। बिर्तामोडको मुक्तिचोकबाट पाँच किलोमिटर उत्तरमा रहेको अर्जुनधारा–जलेश्वरधाम देशकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमध्ये एक हो। यस क्षेत्र महाभारतकालीन कथासँग जोडिएको छ। महाभारतको कथासँग इतिहास जोडिएको अर्जुनधारा–जलेश्वरधाममा अर्जुनले वाण हानेपछि पानी निस्किएर पोखरी बनेको विश्वास छ।

अर्जुनधाराधामको तस्बिर २०५५ सालमा हुलाक टिकटमा अंकित गरी प्रकाशन गरिएको छ। यस धाममा नेपाल, भारत, भुटान, बंगलादेशलगायत पश्चिमी देशका लाखौँ धार्मिक पर्यटक आउँछन्।

कनकाई 

काकाई क्षेत्रअन्तर्गत विभिन्न पर्यटकीय क्षेत्रहरु पर्दछन्। कनकाई नदी झापाको सबैभन्दा पुज्य नदी हो। यहाँ नेपालकै सबैभन्दा लामो ७०३ मिटर लामो पुल छ। यहाँ हरेक वर्ष माघे संक्रान्तिमा प्रदेश १ कै ठूलो मध्येको मेला लाग्छ। जुन माई मेलाका नामले प्रसिद्ध छ।

यही नदीको पूर्वी किनार, कनकाई नगरपालिका–४ स्थित कोटीहवन क्षेत्र छ। २०४२ सालमा योगी नरहरिनाथको अगुवाइमा यहाँ कोटीहोम महायज्ञ गरिएको थियो। त्यसपछि यस स्थानलाई कोटीहोम भन्न थालिएको हो।

सताक्षीधाम

शिवसताक्षी नगरपालिकाको झिलझिले चोकस्थित पूर्वपश्चिम राजमार्गबाट चार किलोमिटर उत्तर चुरेको फेदीमा रहेको छ, सताक्षीधाम। यहाँको शान्त र प्राकृतिक वातावरण, मन्दिर, गौशाला, गुरुकुललगायतले सबैलाई आकर्षण गर्दछ।

सडक सञ्जालको सहज पहुँचका कारण पनि यो स्थानसम्म पुग्न सहज छ। यस स्थानको पृष्ठभूमिमा विभिन्न जनश्रुति जोडिएका छन्। यसलाई हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ समेत भनिन्छ।

अर्को किम्बदन्तीअनुसार पाण्डवहरूको वनबासको अन्तिम समयमा एक वर्षको गुप्तबास बस्नुपर्ने भएको र सो गुप्तबास सफल होस् भनेर यस स्थानमा पाण्डवहरूले सत्ताक्षी देवीको आराधना गरेको हुँदा यस धामको नाम सत्ताक्षीबाट सतासी रहन गएकोे भन्ने भनाइ पनि छ। विगतमा यही स्थानको नामबाट गाविसको नाम समेत सतासीधाम गाविस थियो। अहिले यो स्थान शिवसताक्षी नगरपालिकामा पर्दछ।

दोमुखा तथा धनुषकोटी

कनकाई नदीकै तटमा रहेको पूर्वको चर्चित पर्यटकीय क्षेत्र हो दोमुखा । नदीको पश्चिम किनारमा दोमुखा रहको छ। जुन पर्यटकीय दृष्टिकोणले लोकप्रिय छ । नदीको पूर्वीतटमा धनुषकोटी धाम छ। जुन धार्मिक पर्यटकीय दृष्टिकोणले आकर्षक छ।

पूर्वपश्चिम राजमार्गबाट करिव तीन किलोमिटर उत्तर चुरेको फेदीमा रहेको दोमुखा हिउँदको समयमा पूर्वी नेपाल र सीमावर्ती भारतबाट समेत वनभोज खान आउनेहरुको रोजाइको स्थान हो। पूर्वी नेपालमा छायाँकन हुने धेरैजसो चलचित्रको युनिट यहाँ पुगेर दृश्य समेट्न लालयित हुने गरेका छन्।

१९९० सालअघि कनकाई माई चुरे पर्वतवाट तराई निस्कदा साँघुरो गल्छी भएको ठाउँमा सखुवाको रुख लडेर दुई मुख परेको अर्को सखुवाको रुखमा अड्किई फड्के पुलको आकार दियो। सो फड्केको उपयोग गरी मानिसहरू आगत जावत गर्दथे। र, त्यही दुईमुखे सखुवाको रुखबाट यो ठाउँको नाम दुईमुखे हुँदै दोमुखा रहन गएको जनश्रुति छ।

किच्चकबध

किच्चकबध झापाको मात्र नभएर देशकै एउटा महत्त्वपूर्ण पुरातात्विक क्षेत्र हो। झापाको भद्रपुर नगरपालिकामा पर्ने यो किच्चकबध महाभारतकालीन इतिहासँग जोडिएको छ।

यस क्षेत्रको सरकारी स्तरबाट पटकपटक अध्ययन तथा उत्खनन् गरिएको छ। यद्यपि, स्वस्थानी मन्दिर र शिव मन्दिर संरक्षणको अभावमा अस्तित्व मेटिने अवस्थामा पुगेका छन्। त्यसैगरी भीमसेनको शालिक पनि जीर्ण अवस्थामा छ। संरक्षण र व्यवस्थापनको पहल कतैतिरबाट नहुँदा यहाँको सौन्दर्य नै क्षयीकरण भइरहेको छ।

महाभारतकालीन कथासँग जोडिएको यस ऐतिहासिक क्षेत्रमा पुरातत्व विभागले उत्खनन गर्दा दुईपटा भवनको आकृति फेला परेको थियो। त्यसअघिको उत्खननमा सात मिटर अग्लो १२३ मिटर लामो सुरक्षा पर्खालसहित महत्त्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला परेका थिए। ती वस्तु २२ सय वर्ष पुराना भएको बताइएको छ।

ऐतिहासिक महत्त्वको अध्ययन अनुसन्धानमा रुची राख्नेहरुका लागि यो क्षेत्र महत्त्वपूर्ण छ।

कचनकवल

पर्यटकीय दृष्टिकोणबाट प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेको स्थान हो, केचना । नेपालकै होचो स्थान केचना सरकारी दृष्किोणबाट पनि होचाइएको स्थानीयहरु बताउँछन्।

कचनकवल गाउँपालिकामा अवस्थित केचना समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको नेपालको सबैभन्दा होचो ठाउँ हो। बंगालको खाडीबाट सबैभन्दा नजिक छ। चार बिघा क्षेत्रफलमा फैलिएको केचनामा कछुवाको आकृतिमाथि २० फिट अग्लो स्तम्भ बनाइएको छ। यो स्तम्भ नेपाल–भारत सिमानाको ५०० मिटर वर रहेको छ। उक्त स्तम्भ २०४४ पुस १६ गते तत्कालीन राजा वीरेन्द्रको भ्रमणको अवसरमा स्थापना गरिएको हो। यहाँ नेपालकै अल्पसंख्यक आदिवासी गनगाई जातिको बसोबास रहेको छ।

केचना क्षेत्रमा दुईवटा ऐतिहासिक पोखरी पनि छन्। ती पोखरी महाभारत कालमा विराट राजाले राज्य बिस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिन्छ। यस्तै, भीमले किचकको बध गरेपछि उक्त दुई पोखरी पुर्न खोजेका थिए भन्ने किंवदन्ती पनि छ।

गौरादह–महारानीझोडा

झापाको पश्चिम–दक्षिणी क्षेत्रमा पर्दछ, गौरादह। यहाँ सडक सञ्जालको सहज पहुँच छ। यहाँका आकर्षण भनेका पोखरी र कृषि पर्यटकीय क्षेत्र हुन्।

गौरादहको नामाकरणका आधार हुन्, यहाँका दह। किम्बदन्तीअनुसार पौराणिक कालमा गौरीगाईहरुले पानी खाने दहहरु यहाँ थिए। तिनै दहमा गौरीगाईले पानी खाने गरेका कारण यहाँको नामनै गौरादह रहेको हो। पछिल्लो समय पोखरीहरुको संरक्षणमा स्थानीय र प्रदेश सरकारले चासो बढाएका छन्। गौरीगाई तथा यहाँका दहको प्रतिकात्मक मूर्ती गौरादह बजारमा राखिएकाले आगन्तुकहरुलाई फोटो खिच्चने ठाउँसम्म बनेको छ।

तर झापा आउँदा छुटाउन नहुने गन्तव्य गौरादह नगरपालिका–४ मा रहेको नमुना एकीकृत खेती हो। यहाँ ७४ परिवारले ८० बिघा क्षेत्रफलमा एकीकृत खेती गर्दै आएका छन्। महिलाहरुको अगुवाइमा सञ्चालित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले यसको संयोजन गरिरहेको छ। यो स्थानलाई सरकारले देशका १०० पर्यटकीय क्षेत्रको सूचीमा कृषि पर्यटकीय क्षेत्रको रुपमा अटाएको छ। यहाँ सहकारी मार्फतनै विउबिजन प्रशोधन केन्द्र सञ्चालित छ भने अचार उद्योग, दुधका परिवार उद्योग, सुगन्धित तेल उत्पादन, माछा पालनजस्ता उद्यम समेत सञ्चालित छ।

शरणार्थी शिविर

झापाको ब्राण्डिङ हुन नसकेको सम्भाव्य पर्यटकीय स्थल हो भुटानी शरणार्थी शिविर। विगतमा झापामा ६ वटा शरणार्थी शिविर थिए। तर, शरणार्थीको तेस्रो देश पुनस्र्थापनाले संख्या घटेपछि अहिले दमक नगरपालिका–३ बेलडाँगीमा मात्र शिविर छ। अर्को सानो शिविर मोरङको पथरी शनिश्चरेमा पनि छ।

मानिसले गर्ने स्वतन्त्रताको आन्दोलन, त्यसबाट हुने नोक्सानी, एउटा परिवेशबाट अर्को परिवेशको रुपान्तरण, राष्ट्रियको महत्त्व र मुद्दा आदि जस्ता गम्भीर विषयमा अध्ययन गर्न चाहनेका लागि शिविर आकर्षक गन्तव्य हो। यहाँको शिविरबाट भुटान, नेपाल र विभिन्न पश्चिमा सात देशसँग जोडिएको सम्बन्ध, त्यसले मानव जीवनमा पारेको प्रभाव आदि विषयमा गहन अध्ययन गर्न सकिन्छ।

सुखानी स्मारक

अर्जुनधारा नगरपालिकामा रहेका सुखानी सहिद स्मृति पार्क झापाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। झापा विद्रोहका पाँच सहिदको प्रतीमासहितको पार्क झापाको उदीयमान पर्यटकीय क्षेत्रको परिचय बनाइसकेको क्षेत्र हो।

पार्कमा मनोरञ्जनात्मक सामग्री र लोपोन्मुख जीवजन्तुको दृश्यावलोकनसमेत गर्न सकिन्छ। जंगलभित्र सुन्दर र आकर्षक बाटो, पाँच सहिदको मूर्ति, ठूलो पोखरीभित्र बोटिङ, आकर्षक काठको पुल रहेको सालबारी आन्तरिक तथा बाह्य पर्यटककोे रोजाइमा पर्न थालेको छ।

यस क्षेत्रमा २२ हेक्टर जमिनलाई संरक्षण गरी वनभोज तथा अध्ययन स्थलको रूपमा पनि विकसित गरिएको छ। पार्कसँगै रहेको कछुवा उद्धार तथा प्रजनन केन्द्र रहेको छ।

सिमसारहरु 

प्रकृतिसँग रमाउनेहरुका लागि झापामा प्रशस्त सिमसारहरु रहेका छन्। कतिपय सिमसारहरुमा फनपार्क, मिनी चिडिया घरजस्ता आकर्षण पनि थपिएका छन्। जसका कारण यस्ता स्थानहरु पारिवारिक तथा अध्ययन अवलोकन भ्रमणका लागि आकर्षक गन्तव्यका रुपमा रहेका छन्।

तीमध्ये कनकाई नगरपालिकामा पर्ने जामुनखाडी, मेचीनगरको बाँसबारी तथा मागुरमाडी, हल्दिबारीको भेलागढी, कमलको कमल तथा बाल्मिकी सिमसार अवलोकनकर्ताको पखाइमा छन्।

जामुनखाडी पूर्वकै चर्चित पर्यटकीय स्थलको रुपमा स्थापित भएको छ। ३४ हेक्टर क्षेत्रफलको जामुनखाडी सामुदायिक वन अन्तर्गत ४०० हेक्टर क्षेत्र ओगटेको यो सिमसार पर्यटकीय गन्तव्य बन्दै गएको हो। जामुनखाडी सिमसार क्षेत्रमा ऐतिहासिक महत्वका गङ्गा–जमुना पोखरी छन्। चार बिघा क्षेत्रफलको मध्यभागमा रहेको जमुना पोखरी पर्यटकहरुको आकर्षणको केन्द्र भएको छ। पोखरीमा नौका र डुङ्गा सञ्चालन गरिएको छ। विभिन्न ठाउँबाट हरिण, चितुवा, भालु, अजिङ्गर, अस्ट्रिच, खरायो लगायतका जीवजन्त ल्याएर ‘मिनी जु’ समेत निर्माण गरिएको छ। एकै दिनमा २०० भन्दा बढी अट्ने पिकनिक स्पट पनि रहेको छ। जामुनखाडीमा वार्षिक तीन करोडको कारोबार हुने गरेको छ। सिमसार क्षेत्रमा नौका बिहार, बाल उद्यान, झोलुङ्गे पुल, गार्डेन, व्यवस्थित फलैँचा, विभिन्न किसिमका मूर्ति, मिनी रेल निर्माण गरिएको छ । यस्तै भेलागढी सिमसार पनि आफ्नो रुप परिवर्तन गर्ने क्रममा रहेको छ ।

अन्य स्थानहरु

झापामा चर्चामा नआएका अन्य पर्यटकीय क्षेत्रहरु पनि छन्। हरियालीमा रमाउनेहरुका लागि दमक, बिर्तामोड तथा बर्ने चिया बगान छन्।

पहाडी धरातलमा खुसी खोज्नेहरुका लागि मेचीनगरको उत्तरी क्षेत्रमा रहेको मिनिमाउण्टेन उपयुक्त छ। सांस्कृतिक पर्यटनमा रमाउनेहरुका लागि दमकस्थित धिमाल समुदायको होमस्टे पनि उपयुक्त छ। यस्तै, झापामा मात्र बसोबास रहेको किसान जातिबारे मेचीनगर जान सकिन्छ।

खेल्ने रमाउनेहरुका लागि कन्काईको हेप्पिल्याण्ड,बिर्तामोडको हेवन पार्क, कमलको स्माईल फनपार्कजस्ता ठाउँ पनि छन् । प्रकृति र संस्कृतिसँगको निकटताका लागि हल्दिबारी, बाह्रदशी, बिर्तामोडको बिराटपोखरजस्ता ठाउँहरु पनि छन्।

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु