हरिवंशले किने विद्युतीय गाडी, भन्छन्- बिजुली खपत गरौं

२०७९, १० माघ मंगलवार २०:०८

काठमाडौं । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले हिंड्डुल र यातायातलाई पनि वातावरणमैत्री बनाउने भएका छन् । यही संकल्प अनुरुप उनले मंगलबार बिजुली गाडी खरिद गरे । ९० लाख रुपैयाँ मूल्य पर्ने बीवाईडी ब्राण्डको एट्टो–३ कार उनले खरिद गरेका हुन् ।

उक्त ब्राण्डले हरिवंशलाई व्यावसायिक दूत समेत बनाएको छ । ‘अब इलेक्ट्रिक गाडी चढ्छु । मैले चढें भने अरुले पनि देख्नुहुन्छ, सिक्नुहुन्छ । पैसा बुझाएको पनि सात महिना भइसकेको थियो । गाडीको आयात बन्द हुँदा ढिलाइ भएको थियो । बल्ल आज गाडी चढ्ने मौका पाएँ,’ आचार्यले अनलाइनखबरसँग भने, ‘हामीले विदेशबाट अर्बौंको तेल ल्याउँछौं । धेरै इलेक्ट्रिक गाडी आउने हो भने ऊर्जाको पनि सदुपयोग हुन्छ ।’

बिजुली खपतको सन्देश दिन हरिवंशले विद्युत प्राधिकरणसँग मिलेर टेलिसिरियल ‘झिलिमिली’मा अभिनय गर्दैछन् । महसञ्चारले निर्माण गर्न लागेको यो सिरियलको छायांकन आगामी आइतबारदेखि सुरु हुँदैछ । बिजुलीको खपत कसरी बढाउने भन्ने अभियानअनुसार यो सिरियल बनाउन लागेको उनले जनाए । ‘चुल्होमा, सिंचाइमा र गाडीमा बिजुली खपत कसरी गर्न सकिन्छ भन्ने सन्देश दिने कथामा सिरियल बन्नेछ,’ उनले भने । अहिले तीनवटा एपिसोडमा सिरियल सुटिङ हुनेछ ।

गत पुस २ गते आफू अभिनित फिल्म ‘महापुरुष’को ५१ दिन मनाउन आयोजित समारोहमा हरिवंशले बाँकी जीवन कार्बन तटस्थ रुपमा बाँच्ने बताएका थिए । सोही कार्यक्रममा उक्त फिल्मलाई मुलुककै पहिलो कार्बन तटस्थ फिल्म घोषणा गरिएको थियो । साथै, हरिवंशले आफ्नो गाउँ काभ्रेमा डेढ सय रुख रोप्ने तयारी गरेका छन् । आगामी वर्षायामलाई लक्षित गरी गर्न लागिएको वृक्षारोपणका लागि पानी ट्याङ्की निर्माणको कार्य भइरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु