नेपालको पासपोर्ट अन्तिमबाट छैटौँ स्थानमा, एक नम्बरमा कुन ?

२०८०, ३ श्रावण बुधबार १५:४६

काठमाडौं । विश्वका विभिन्न देशको पासपोर्टको र्‍याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको छ ।

हेन्ले एन्ड पार्टनर्सको पासपोर्ट सूचकांक इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) को १८ वर्षको तथ्याङ्कमा आधारित छ ।

यसले विश्वका १९९ पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्रि भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गर्छ । यसले २२७ विभिन्न देश तथा स्थानको भ्रमण सूची सूचकांक तयार पार्न प्रयोग गरेको छ ।

सोअनुसार नेपाल अन्तिमबाट छैटौँ स्थानमा रहेको छ । समग्रमा १०३ मध्ये ९८औँ स्थानमा रहेको नेपालको पासपोर्टले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ । नेपालकै जत्तिको बलियो पासपोर्ट प्यालेस्टाइन क्षेत्रको समेत रहेको छ ।

सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ । जसले २७ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । एक नम्बरमा रहेको सिंगापुरको पासपोर्टले १९२ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । १९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको पासपोर्ट दोस्रो स्थानमा छन् ।

दक्षिण कोरिया र जापानको १८९ देशमा पहुँच पाउने पासपोर्ट तेस्रो स्थानमा छ । अमेरिकाको पासपोर्ट आठौँ स्थानमा रहेको छ भने यसले १८४ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।

८० देश तथा क्षेत्रमा प्रवेश गर्न सकिने चीनको पासपोर्ट ६३औँ स्थानमा रहेको छ । ८०औँ स्थानमा रहेको भारतको पासपोर्टले ५७ ठाउँमा प्रवेश गर्न सकिन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु