गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवारः नेपाल

२०७९, २३ पुष शनिबार २१:३६

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्।

पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए।

उनले संवैधानिक तथा राजकीय पद बाँडफाँटमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गरेको उल्लेख गर्दै केही नेताको अहङ्कारले नयाँ ध्रुवीकरण भएको विचार व्यक्त गरे।

अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

‘सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ,’ अध्यक्ष नेपालले भने।

Comments

ताजा खबर