क्षमताका आधारमा प्रहरीको सरुवा बढुवा हुन्छः उपप्रधान एवं गृहमन्त्री लामिछाने

२०७९, २३ पुष शनिबार २१:३३

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पारेका छन्।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि गृहमन्त्री लामिछाने सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख गर्दै अब त्यस्तो नहुने पनि बताए।

यसअघि नै गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीहरूलाई आफ्नो चाहना पूरा गर्न राजनीतिज्ञ तथा अन्य माथिल्लो निकायमा भनसुनका लागि गए कारबाही हुने निर्देशन दिइसकेका छन्।

गृहमन्त्री लामिछानेले सङ्गठनमा रहँदा नजिक र पराइ तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाइ प्राप्त जिम्मेवारीलाई कुशलताका साथ निभाउन पनि आग्रह गरे। उनले विगतमा भएका कमजोरीलाई सुधार गर्दै प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।

यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाइ राज्यप्रदत्त जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्दै आइरहेको बताएका थिए। रासस

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु