आइफोनमा छन् यी छ गज्जबका फिचर ?

२०७९, २१ माघ शनिबार २१:१५

काठमाडौं । आइओएस भनिने अपरेटिङ सिस्टमले आइफोनलाई कुनै एन्ड्रोइड फोनभन्दा नितान्त अलग बनाएको छ ।

डिजिटल सुरक्षाको दृष्टिले अब्बल मानिने एप्पलको आइफोनमा धेरै यस्ता फिचरहरु पनि छन् जसका बारेमा आम साधारण प्रयोगकर्तालाई थाहा नहुन सक्छ । त्यस्तै केही फिचरहरु थाहा पाउनुहोस् ।

आईफोन गोप्य बटन 

आइफोनलाई गोप्य माइक्रोफोनमा बदल्नुहोस्

आफ्नो वाइफाई पासवर्ड शेयर गर्नुहोस्

आइफोन लक हुँदासमेत गर्न सकिन्छ यी काम

Edit फिचर

एपहरुलाई रेटिङ गर्ने हैरानीबाट मुक्ति

नयाँ आइफोनमा कुनै बटन हुँदैनन् । तर पनि यी फोनमा एउटा गोप्य बटन लगाइएको हुन्छ । त्यो बटन अन्त कतै होइन आइफोनको पछाडिपट्टि रहेको एप्पलको लोगोमै हुन्छ । एप्पलको लोगोमा ट्याप गरेर तपाईंले आफ्नो आइफोनमा स्क्रिनसट लिन सक्नुहुन्छ ।

यतिमात्र होइन त्यहीँ बटनबाट तपाईंले गीत बजाउनदेखि घरको स्मार्ट लाइट खोल्न तथा बन्द गर्न सक्नुहुन्छ ।

आइफोनको त्यो गोप्य बटनलाई सक्रिय बनाउनका लागि तपाईंले आइफोनको Settings > Accessibility > Touch  मा गएर Back Tap मा थिच्नुपर्दछ ।

त्यसलाई अन गर्दा बित्तिकै तपाईंले एउटा सूचि देख्नुहुनेछ । त्यसबाट तपाईंले आफ्नो मनपर्ने कार्य छान्न सक्नुहुन्छ र त्यहीँ काम आइफोनमा रहेको एप्पलको लोगोमा ट्याप गरेर फत्ते गर्न सक्नुहुनेछ ।

आइफोनलाई गोप्य माइक्रोफोनमा बदल्नुहोस्

तपाईं आफ्नो आइफोनलाई एउटा हिडेन माइक्रोफोनमा परिणत गर्न सक्नुहुन्छ । आइफोनमा Live Listen नामको एक फिचर हुन्छ । यहीँ फिचरले फोनलाई माइक्रोफोनमा बदलिदिन्छ र तपाईंको एयरपड्सबाट आवाज पठाउँछ ।

यो फिचर प्रयोग गरेर तपाईंले होहल्ला भएको ठाउँमा समेत फोनमा कुराकानी गर्न सक्नुहुन्छ ।

यसका लागि आइफोनको सेटिंग्स र control center  मा जानुहोस् र तल स्क्रोल गर्नुहोस् । त्यसपछि hearing बटनका अगाडि Add बटन (+) मा ट्याप गर्नुहोस् । र, उक्त परिवर्तनलाई सेभ गर्नका लागि सेटिंग्समा ट्याप गर्नुहोस् ।

आफ्नो वाइफाई पासवर्ड शेयर गर्नुहोस्

आइफोनमा आफ्नो वाइफाई पासवर्ड आफ्ना साथीहरुसँग शेयर गर्न सकिन्छ । यद्यपि यसका लागि तपाईंले पासवर्ड शेयर गर्न चाहेको व्यक्तिसँग आइप्याड, आइफोन वा म्याक हुनुपर्दछ र ती व्यक्ति तपाईंको फोनको कन्ट्याक्ट्स लिस्टमा हुनुपर्दछ ।

त्यसपछि तपाईंले दुुबैजनाको एप्पल डिभाइसमा वाइफाई तथा ब्लूटुथ अन गर्नुहोस् । यसक्रममा हटस्पट खुल्ला छ भने बन्द गर्नुपर्दछ ।

त्यस्तै तपाईंको एप्पल आईडीवाला इमेल अर्को व्यक्तिको कन्ट्याक्ट्समा सुरक्षित भएको हुनुपर्दछ । त्यसपछि तपाईंले आफ्नो डिभाइसलाई अनलक राखेर वाइफाई नेटवर्कसँग कनेक्ट गर्नुपर्दछ । त्यसका लागि तपाईंले कनेक्ट गर्न चाहेको दोश्रो डिभाइसमा वाइफाई नेटवर्क छान्नुहोस् । त्यसपछि तपाईंको डिभाइसमा Share Password मा गएर Done मा ट्याप गर्नुहोस् ।

आइफोन लक हुँदासमेत गर्न सकिन्छ यी काम

तपाईंको आइफोन लक भएको बेलामा समेत केही काम गर्न सकिन्छ । तपाईंसँग आइफोनको लक स्क्रिनलाई कस्टमाइज गर्ने अप्सन हुन्छ ।

जसलाई तपाईं आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका लागि आइफोनको सेटिंग्समा गएर फेसआइडी वा पासकोडमा ट्याप गर्नुहोस् ।

आफ्नो पासकोडको की हाल्नुहोस् र तल स्क्रोल गर्नुहोस् । त्यहाँ तपाईंले Allow Acess When Locked को अप्सन देख्नुहुन्छ । त्यसलाई अनुमति दिनुहोस् । यति गरिसकेपछि तपाईंले Return missed calls, Access notifications जस्ता अप्सन देख्नुहुन्छ ।

Edit फिचर

एप्पलको आईओएस १६को सबैभन्दा गज्जबको फिचर हो यो । यो फिचरको सहयोगमा तपाईंले फोटोहरु एडिट गर्न सक्नुहुन्छ ।

साथै आफूले एडिट गरेका फोटोहरु कपी गर्ने वा एकैपटकमा अन्य फोटोहरुमा पेस्ट गर्न सकिन्छ ।

यसका लागि तपाईंले सम्बन्धित फोटो वा भिडियो खोल्नुहोस्, जसमा तपाईंले सम्पादन गर्नुभएको छ । त्यसलाई कपी गर्नुहोस् र फोनको थ्री डट आइकनमा ट्याप गरी Copy Edits मा ट्याप गर्नुहोस् । अनि फोनको लाइब्रेरीमा गएर Select मा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले त्यस्ता तस्वीरको थम्बनेल छान्नुहोस् जसमा तपाईंले आफूले एडिट गरेको कुरा पेस्ट गर्नुछ । अन्तमा Paste Edits मा ट्याप गर्नुहोस् ।

एपहरुलाई रेटिङ गर्ने हैरानीबाट मुक्ति

आइफोनमा कुनै एप चलाइरहँदा त्यसलाई रेटिङ गर्ने अप्सन आउने गर्दछ । यसले कहिलेकाहीँ दिक्क पार्दछ ।

त्यसैले त्यो दिग्दारीबाट छुटकारा पाउने विकल्प पनि आइफोनमा छ । तपाईंले एपहरु रेटिङ गर्ने त्यस्तो सन्देशलाई ब्लक गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले सेटिंग्समा गएर आइट्युन्स र त्यसपछि एप स्टोरमा जानुपर्दछ ।

त्यहाँ गएर switch off App Ratings and Review विकल्प छान्नुहोस् । त्यति गरेपछि तपाईंले आफ्नो आइफोनमा कुनै एपलाई रेटिङ गर्नुहोस् भन्ने सन्देश पाउनुहुने छैन ।

– एजेन्सीको सहयोगमा

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु