लोक तथा दोहोरीगीत प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’ मेरो समय अनुकूल भएन: बमबहादुर कार्की

२०८०, १८ असार सोमबार ०६:०२

काठमाडौं । अग्रज लोकगायक बमबहादुर कार्कीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दिने भनेको सम्मानार्थ सदस्यता नलिने बताएका छन् । ‘लिनै हुँदैन भनेको होइन तर अहिलेका लागि मेरो समय अनुकूल भएन,’ उनले भने संस्था पनि दर्ता भइसकेको स्थितिमा हामीले संस्थागत निर्णय पनि गर्नेछौं ।

प्रतिष्ठानले यसअघि कार्कीसहितका नौजना स्रष्टालाई सदस्यता दिने घोषणा गरेको थियो । जसमा कार्कीसहित नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको सम्मानार्थ सदस्यता दिने भनिएको थियो ।

‘खासमा यो मिलेर जाने कुरा हो । हतार गरेर तानातान गर्नु जरुरी छैन । हाम्रो र उहाँहरुको संस्थाका उद्देश्य नै अलग छ । हामीले संगीतका विधामा अध्ययन अनुसन्धान गरेर अघि बढ्ने तयारीमा छौं । अहिलेको समय मेरा लागि अनुकूल रहेन,’ कार्कीले भने ।

प्रतिष्ठानले सदस्यता वितरणका लागि सोमबार गोंगबुमा समारोह आयोजना गरेको छ ।  कार्कीले आफ्नो अध्यक्षतामा नयाँ संस्था दर्ता भइसकेकाले सदस्यता लिन नमिल्ने बताएका हुन् । उनको अध्यक्षतामा काठमाडौं जिल्ला प्रशासनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् दर्ता भइसकेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु