झापा। भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।
उनले आज भद्रपुरमा पत्रकार सम्मेलनमार्फत नेकपा एमाले परित्यागको घोषणा गरेकी हुन् । विगत ३२ वर्षदेखि एमालेमा आवद्ध श्रेष्ठले पार्टीप्रति विभिन्न १८ वटा असहमति जाहेर गर्दै आजको मितिदेखि पार्टीबाट अलग रहने निर्णय गर्न बाध्य भएको बताएकी छन् । उनीसंगै प्रदेश कमिटी सदस्य पदम थापा , ३ नं क्षेत्रीय सदस्य सज्जाद आलम र हवालोदिन मियाले पनि एमाले परित्याग गरेका छन् । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।
हामी नेकपा एमालेमा संगठित भई नेपालको वामपन्थी आन्दोलनमा क्रियाशील भएर विभिन्न जनसंगठन, पेशागत संगठन र पार्टी कमिटीहरुमा आवद्ध भएर राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनजिविकामा सुधार तथा न्याय र समानतामा आधारित सामाजिक रुपान्तरणको यात्रामा अविचलित रुपमा हिडेको पनि ३० वर्षभन्दा बढी भइसकेछ ।
२०४६ सालको आन्दोलनमा पार्टी कार्यकर्ताको रुपमा निरकुंश राजतन्त्र र तानाशाही शासनको विरुद्ध र २०६२।०६३ सालको जनआन्दोलनमा सकृय सहभागी भएका हौँ । आम जनताले निरन्तर रुपमा गरेको आन्दोलनबाट देशमा निरंकुश राजतन्त्रको अन्त्य भयो र लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर जनताको अवस्था अझै अपेक्षा अनुसार सुधार हुन सकेन । २०७४ सालको निर्वाचनमा वामपन्थी पार्टीहरु एकताबद्ध भएर करिव दुईतिहाई नजिकको सरकार बन्न सफल भयो तर पुनः सत्ता स्वार्थ, गुटगत स्वार्थ, नेतृत्वमा देखिएको दम्भ, घमन्ड र अहंकारको कारणले गर्दा एकतावद्ध नेकपा (नेपाल कम्युनिष्ट पार्टी) पुनः विभाजित भयो ।
असंवैधानिक रुपमा संसद विघटन गर्ने मुद्धाले नेपालको कम्युनिष्ट आन्दोलन विभाजन र विघटनको दिशामा गयो । कम्युनिष्ट नेताहरुमा आफूलाई राजा, महाराजा, शासक ठान्ने संस्कार संस्कृति देखियो । नेतृत्वको देवत्वकरण हुन थाल्यो । आफूलाई अन्धाधुन्ध समर्थन गर्ने कार्यकर्ताहरुलाई काखी च्याप्ने र ठीकलाई ठीक, बेठिकलाई बेठिक भन्ने, तथ्यबाट सत्य खोज्ने र हरेक घटना र परिवेशलाई द्वन्द्वात्मक भौतिकवादी ढंगले विश्लेषण गर्ने कार्यकर्ताहरु भेदभाव र पक्षपातको शिकार बन्न थाले । स्थानीय तह र संसदीय निर्वाचनमा समेत जनभावनाभन्दा पनि नेताहरुको आशिर्वादको आधारमा जिम्मेवारी वाँडफाँट हुन थाल्यो । समाजमा अन्याय र विभेदको विरुद्ध लड्ने हाम्रो पार्टीमा हामीजस्ता कार्यकर्ताहरु नै अन्याय र भेदभावबाट प्रताडित भइरहँदा समेत अन्तरपार्टी संघर्ष गर्दै पार्टीलाई एकताबद्ध बनाई राख्न र यसमा देखिएका विकृति, विसंगति अन्त्य गर्न निरन्तर रुपमा लागिपरिरहयौ । तर हुँदा हुँदा आज आएर पार्टीमा रहेर टेक्ने ठाउँ र सुधारका प्रयत्न गर्ने आधारहरु समेत समाप्त पार्ने प्रयास भएकाले निम्न बुँदागत असहमतिहरु आम जनता र कार्यकर्ताहरु सामु प्रस्तुत गर्दै आजैको मितिबाट हाम्रो ३० वर्षभन्दा लामो समय काम गरेको पार्टी नेकपा एमालेबाट अलग रहने निर्णय गरेका छौँ । फेरि पनि आगामी राजनितिक यात्रामा लामो समयसम्म सहकार्य गरेका साथीहरुसंग साझा दृष्टिकोण, समाज परिवर्तनको कार्यदिशा र कार्यक्रम बनाई एकतावद्ध बामआन्दोलन अगाडि बढाउने दिशामा हाम्रो प्रयास जारी रहने छ । बामआन्दोलनलाई अगाडि बढाउने क्रममा फेरि हामी भेट्ने छौँ ।
पार्टीप्रति हाम्रो असहमतिका बुँदाहरु निम्न लिखित रहेका छन् ।
१. २०६२।०६३ सालमा निरंकुश राजतन्त्र विरोधी आन्दोलनको अगुवाइ गर्ने पार्टी (नेकपा एमाले) राजावादी शक्ति (राप्रपा) संग निरन्तर रुपमा तालमेल गर्दै अघि बढेको र झापा ३ नं. क्षेत्रमा नेकपा एमालेलाई कमजोर बनाएको ।
२. राप्रपाको आलोचना गर्ने नेता कार्यकर्ताहरुको चरित्र हत्या गर्ने तर निर्वाचन अभियानको क्रममा एमाले कार्यकर्ताहरुले भोग्नु परेको अपमान, राप्रपाको निगरानी र एमाले कार्यकर्तालाई राप्रपामा प्रवेशसम्म गराउने राजनीतिक घटनाको नेतृत्वले वेवास्ता गरेको ।
३. पार्टीमा केही कार्यकर्ताहरुलाई पार्टी नेतृत्वले प्रोत्साहन दिएको, उनीहरुले पार्टी नेतृत्वलाई जे सुनायो त्यसैमा विश्वास गर्ने पार्टीसम्बद्ध विभिन्न इस्युहरुमा आम कार्यकर्ताहरुको यथार्थ भावनालाई पार्टी नेतृत्वले वेवास्ता गरी पक्षपात र भेदभावपूर्ण निर्णय गर्ने गरेको ।
४. पार्टीभित्र काखा पाखा गर्ने परिपार्टीको अन्त्य तत्काल गर्न माग गर्दै योग्यता, क्षमता, योगदान र सिद्धान्तनिष्ट नेता कार्यकर्ताहरुलाई एकतावद्ध बनाई सुदृढ पार्टी संगठन निर्माणमा केन्द्रीय तथा जिल्ला कमिटी नेतृत्वको गम्भीर ध्यान आकर्षण गर्दा पनि उहाँहरुले उक्त कुराहरुको कुनै पर्वाह नगरेको ।
५. पार्टीभित्र पार्टी नेतृत्वको आशिर्वाद र संरक्षण निर्णायक बनेको र ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने परिवेश पार्टीमा नरहेको ।
६. अब पार्टीमा जतिसुकै योगदान गरेपनि पार्टी नेतृत्वको आशिर्वाद नहुन्जेल पार्टीभित्र कार्यकर्ताहरुको निष्पक्ष मूल्यांकन हुने परिवेश नरहेको ।
७. पार्टीमा फरक मत राख्ने वा नेतृत्वको कमिकमजोरी औल्याउने कार्यकर्तालाई जिम्मेवारी नदिने प्रवृत्ति हावी भएको र उनीहरुलाई राजनीतिक रुपले किनारा लगाइएको ।
८. पार्टी मार्क्सवादी दर्शनबाट निर्देशित हुन छोडेको ।
९. पार्टीभित्र मजदुर, किसान र श्रमजीवि वर्गको हकहितको पक्षपोषण गर्ने कार्यदिशा कमजोर बन्दै गएको ।
१०. बुर्जुवा पार्टी र नेकपा एमालेमा फरक देखिन छोडेको ।
११. पार्टी नीतिभन्दा नेता प्रधान हुँदै गएको ।
१२. पार्टीमा अन्तरपार्टी लोकतन्त्रभन्दा गुटतन्त्र हावी भएको ।
१३. पार्टी एकल व्यक्तिको कम्पनी जस्तो भएको सबै कुरा पार्टी नेतृत्वको एकल निर्णयबाट चल्ने गरेको ।
१४. पार्टीभित्र सामूहिक नेतृत्वको परिपाटी हराउँदै गएको ।
१५. आफू जिल्ला कमिटीको उपसचिव रहेतापनि कार्यालय कमिटी र पदाधिकारी वैठकमा नबोलाई गुटगत रुपले निर्णय गर्ने गरिएको ।
१६. पार्टीलाई पार्टी नेतृत्वको आशिर्वाद प्राप्त सीमित कार्यकर्ताहरुले स्वार्थपूर्ति गर्ने भाँडो मात्र बनाउन खोजेको ।
१७. पार्टीभित्र दलाली र चाकडी चाप्लुसी हावी हुँदै गएको, स्वाभिमानी कार्यकर्ताहरुलाई अपमानित र तिरस्कृत गरिएको ।
१८. पार्टी कार्यकर्ताहरुलाई आलोचनात्मक चेत र क्षमता भएका ठिक बेठिक सही र गलत विश्लेषण गर्ने क्षमता भएका र उत्पादनसंग जोडेर समाजवादतर्फको समृद्धिको यात्रामा पूर्वाधार तयार गर्नुपर्नेमा नेतृत्वको जयजयकार गर्ने बनाउने कार्यकर्ता पंक्ति तयार गर्ने काम पार्टीभित्रै भईरहेको ।
पार्टीभित्र भएका उक्त कमिकमजोरीहरु सुधार गर्नको निम्ति पार्टी नेतृत्व समक्ष पटकपटक कुरा राख्दा कुनै सुनुवाई नभएकोले यहाँहरुको संचारमाध्यममार्फत हामी जनतासमक्ष राख्न बाध्य भएका छौँ ।
हामी तत्काल कुनै राजनीतिक पार्टीमा आवद्ध हुने छैनौं तर हामी एउटा राजनीतिक मानिस भएकोले हामीले पछि यो विषयमा सोचेर निर्णय लिनेछौँ र अहिलेलाई नितान्त स्वतन्त्र नै रहने छौँ । हाम्रो राजनीतिक जीवनमा हामीले संगठित गरेका तमाम साथीहरुको उज्यालो राजनीतिक भविष्यको कामना गर्दछौँ ।
अभिवादनसहित
१) चन्द्र माया श्रेष्ठ (भद्रपुर)
नेकपा एमाले जिल्ला कमिटी
उप–सचिव
२) पदम थापा (बाह्रदशी)
प्रदेश कमिटी सदस्य
३) सज्जाद आलम
३ नं. क्षे.सदस्य बाह्रदशी
४) हवालो दिन मियाँ
गा.पा. सदस्य बाह्रदशी
५) रहिम मियाँ
सचिवालय सदस्य बाह्रदशी