बिर्तामोड नगरपालिकाले १०० विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

२०७९, १९ माघ बिहीबार २०:२२

बिर्तामोड। बिर्तामोड नगरपालिकाले सयजना विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा बिहीवार आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाले एक सय जनालाई ब्लाङ्केट वितरण गरेको हो ।

सामाजिक विकास शाखाको वार्षिक कार्यक्रमअन्तर्गत नगरका १० वटै वडाबाट सिफारिस भएर आएका १०÷१० जनालाई ब्लाङ्केट वितरण गरिएको नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए ।कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले विपन्न जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगरको तर्फबाट न्यानो कपडा ब्लाङ्केट वितरण गरिएको बताइन् । आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै उनले सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र खानपान, रहनसहनमा ध्यान दिन आग्रह गरिन् ।

यस्तै नगर उपप्रमुख तथा स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको अधिकार समन्वय समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले मापदण्डका आधारमा ब्लाङ्केट वितरण गरेको बताए । यस शिर्षकमा यो वर्ष दुई लाख रुपैयाँमात्रै बजेट रहेका कारण सबैलाई समेट्न गाह्रो भएको भन्दै उनले बाँकी रहेका विपन्न जेष्ठ नागरिकहरुलाई अर्को वर्ष वितरण गर्ने जानकारी दिए ।नगरपालिकाले ब्लाङ्केट लिन आउने सबै विपन्न जेष्ठ नागरिकहरुलाई जनही दुई सय रुपैयाँका दरले भाडासमेत दिएको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडाध्यक्षहरु मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, अजय कार्कीलगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु