काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गरेका छन्।
गोरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै द्विविधा नरहेको अध्यक्ष दाहालको भनाइ थियो।
काठमाडौँमा सोमबार आयोजित पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गोरखाली जनता, त्यहाँको स्थानीय पार्टी कमिटी, बुद्धिजीवी र गठबन्धनका नेताहरूको आग्रहमा मात्रै आफूले गोरखाबाट चुनाव लड्ने निर्णय लिएको स्पष्टीकरणसमेत दिए।
चुनाव हारिन्छ कि भनेर आफूले गोरखामा पुगेर उम्मेदवारी नदिएको अध्यक्ष दाहालले पटक–पटक दोहोर्याए। अध्यक्ष दाहालले जनयुद्ध र जनक्रान्तिको सम्पूर्ण तयारी गोरखाबाट भएकाले आर्थिक समृद्धिको अभियान पनि सोही ठाउँबाट अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि आफूले लिएको उल्लेख गरे।