राप्रपा नेपाल गठन, सापकोटालाई अध्यक्षको जिम्मेवारी

२०७८, १७ चैत्र बिहीबार २०:०९

मकवानपुर: केही दिन अघि राप्रपा परित्याग गरेका नेताहरूले आज मकवानपुरमा राप्रपा नेपाल गठन गरेका छन् । पार्टीको जिल्ला अध्यक्षमा गुरुप्रसाद सापकोटा चयन भए ।

आज बिहीबार कमल थापा नेतृत्वकाे राप्रपा नेपाल मकवानपुरको हेटौंडामा भएको घोषणा सभामा वर्तमान अध्यक्ष अर्जुन ढुङ्गनाले सापकोटाको नाम जिल्ला अध्यक्षमा घोषणा गरेका हुन् । सभामै राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माईनेट र झण्डा हस्तान्तरण गरेका थिए ।

यसअघि, सापकोटा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका जिल्ला अध्यक्ष थिए । उनले केही दिन अघि मात्रै राप्रपा भित्र सैद्धान्तिक विचलन देखिएको भन्दै साधारण सदस्य समेत नरहने गरी राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

यसैगरी राप्रपा नेपालको केन्द्रीय सदस्यमा मकवानपुरका बालकृष्ण कार्की र अम्बिका खतिवडा चयन भएका छन् ।
बिहीबार हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभाबाट कार्की र खतिवडा केन्द्रीय सस्यमा चयन भएका हुन् । उनीहरुलाई राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य पदको जिम्मेवारी पत्र प्रदान गरेका थिए ।

घाेषणा सभामा केन्द्रीय अध्यक्ष कमल थापाले आफूलाई राजनीतिमा कमजोर बनाउन चाहनेहरु पछिल्लो समय सकृय भएको बताए । उनले केही साथीहरू अलमलिनु भएको तर छिटै नै वास्तविकता बुझेर सँगै हिड्न आउने बताए । ‘राप्रपाको बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको र कानुन बमोजिम नै पार्टी फुटाउन सक्ने भए पनि आफू एक्लै पार्टीबाट बाहिरिएकाे हुँ’ थापाले भने– ‘अझै हजारौं सङ्ख्या लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासनमा बिश्वास गर्ने समुह रहेकोले म आफैले यसको नेतृत्व गरेको छु ।’

गत मंसिरमा काठमाडाैमा भएकाे राप्रपाकाे महाधिवेशनमा पूर्व राजाको सचिव तथा सहयोगीले प्रतिनिधिलाई फकाउने र आफूलाई हराउने काम गरेकाे समेत सभामा थापाले बताए । अबको चुनाव सकेसम्म नेकपा एमाले सङ्ग मिलेर चुनाव लड्ने पक्षमा आफूहरु रहेकाे उनले बताए । आगामी निर्वाचनको तयारीमा लाग्न थापाले कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु