काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले भर्चुअल वार्ता गरे । यो वार्ता बिना कुनै तयारी अकस्मात थियो ।
जब नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) संसदबाट पारित गराउने सहमति सत्ता गठबन्धन भयो तब चीन एकाएक सक्रिय भएको छ । यसैको स्वरुप चिनियाँ कम्युनिस्ट पार्टी उच्च नेताले प्रचण्डलाई भर्चुअल कुराकानी गरे । कुराकानीमा चिनियाँ नेता थाओले बेल्ट एन्ड रोड अवधारणा बीआरआईको कुरा गरेर अमेरिकी एमसीसी सम्झौता अगाडि नबढाउन कडा सन्देश दिएका छन् ।
‘नेपालसँग बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) को फ्रेमवर्कभित्र रहेका प्रमुख परियोजनालाई व्यवहारिक कार्यान्वयनमा लैजान चीन चाहन्छ’ चिनियाँ नेताले प्रचण्डलाई भने । उनले अप्रत्यक्ष रुपमा एमसीसी अगाडि नबढाउन र बीआरआईमा केन्द्रीत हुन प्रचण्डलाई भनेका छन् ।
बीआरआईमा जोड दिएका चिनियाँ नेताले माओवादी केन्द्रसँग अझै गहिरो सम्बन्ध सीपीसीले चाहेको, पार्टी—पार्टीबीचको सम्बन्ध सुदृढ गर्दै चीन—नेपाल मित्रता तथा क्षेत्रीय शान्ति र स्थिरताका लागि अझै बढी योगदान गर्न चाहेको उल्लेख गरे ।
क्षेत्रीय शान्ति भनेर उनको संकेत एमसीसीतिर थियो । चिनियाँ विदेश विभाग प्रमुख थाओले प्रचण्डसँगमात्र होइन पछिल्लो दुई/तीन दिनमा ६ जना नेतासँग कुरा गरेका छन् ।
सत्ता गठबन्धनमा एमसीसी अगाडि बढाउने सहमति भएसँगै सक्रिय भएका चिनियाँ विदेश विभाग प्रमुख थाओले प्रचण्डसँगै माधव नेपाल, नारायणकाजी श्रेष्ठ, सभामुख अग्नि सापकोटा, माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मासँग बेग्ला बेग्लै कुरा गरेर एमसीसी कुनै हालतमा पास हुनुहुँदैन भनेर माहोल सिर्जना गर्न खोजेको सत्ता गठबन्धनका एक नेताले बताए ।
त्यसवापत माओवादी नेताहरुलाई चुनावमा सघाउने प्रतिबद्धता चिनियाँ नेताको छ । माओवादीसँग सहकार्य अझै बढाउने र निर्वाचनमा खुला रुपमा सघाउने आश्वासन नेताहरुलाई सीपीसीले दिएको छ । तर एमसीसी अगाडि नबढाउन दबाब बढाएको छ ।
कसरी सक्रिय भए चिनियाँ ?
शनिबार बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भएको छलफलमा एमसीसीलाई टेबुल गर्ने र पास गराउन अगाडि बढ्ने समझदारी भएको थियो । एमसीसीका कारण गठबन्धन नै टुट्ने भएपछि प्रचण्डले माधवलाई एमसीसीमा कन्भिन्स गराएका थिए । गठबन्धन टुट्यो भने चुनावमा अपेक्षित परिणाम नआउने र नराम्रो हार व्यहोर्नुपर्ने भयका कारण गठबन्धन टुट्न नदिन एमसीसी अगाडि बढाउन सहमत भएका थिए ।
त्यसअनुसार प्रचण्डले सभामुख अग्नि सापकोटालाई एमसीसी टेबल गर्न आग्रह गरेका थिए । बहुमत पुगे पास हुन्छ नभए फिर्ता हुन्छ, संसदमा भने अगाडि बढाउन प्रचण्डले सापकोटालाई भनेका थिए ।
चीननिकट मानिने सापकोटाले यो कुरा चिनियाँ राजदूत होउ यान्छीलाई जानकारी गराए । ‘प्रचण्ड एमसीसी पास गर्ने तयारीमा छन् । गठबन्धन टुट्छ भन्ने डर छ । मलाई एमसीसी अगाडि बढाउ भनेका छन्,’ भनेर उनले राजदूत यान्छीलाई भने । लगत्तै चिनियाँ राजदूतले यो कुरा बेइजिङ पुर्याइन ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता एकाएक सक्रिय भए । सत्ता गठबन्धनका कम्युनिस्ट नेतालाई भर्चुअल सम्वाद गर्दै दुई दिनभित्र चिनिया विदेश विभाग प्रमुखले ६ नेतासँग कुरा गरे । एमसीसी रोक्न दबाब दिएका छन् ।
यो दबाबमा सत्ता गठबन्धनका प्रमुख नेता प्रचण्ड परेका छन् । एकातिर चीनले आफूप्रति देखाएको सदभाव छ भने अर्कोतिर गठबन्धन टुट्ने र आफ्नो राजनीति नै सक्किने भय प्रचण्डलाई छ । अर्कोतिर अमेरिकासँग सम्बन्ध बिग्रिने तनाव । तेहरो चेपुवामा परेका प्रचण्डले अब कसरी निकास देलान परीक्षण हुन बाँकी छ ।
एमसीसी टेबल गरेर नतिजा स्वीकार्ने निर्णयमा पुगेका प्रचण्डलाई उनकै विश्वासपात्र अग्नि सापकोटाले चिनियाँलाई कुरा लाइदिएर अफ्ठेरोमा पारिदिएका छन् ।