पौडेलको बागीले कस्तो पर्ला नतिजामा प्रभाव ?

२०७९, १७ बैशाख शनिबार १३:०९

चितवन । अघिल्लो स्थानीय तहको निर्वाचनदेखि नै चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिका यस पटक पनि उम्मेदवारी दर्तादेखि नै चर्चामा छ । यसकारण पनि भरतपुर प्रतिष्ठाको विषय बन्यो कि, माओवादी नेता रेनु दाहाल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार छिन् ।

उनलाई सर्मथन गर्ने दल नेपाली कांग्रेसभित्रको भाँडभैलो र कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दर्ता गरेपछि थप गर्माएको छ, भरतपुर । उनको उम्मेदवारी फिर्ता गराउन राज्यशक्तिकै दुरुपयोग गर्दै सरकारका दुई मन्त्री तीनदिनसम्म भरतपुर बसे ।
पौडेलको उम्मेदवारी फिर्ता गराउन राज्यसत्ता नै लागिपरेको घटनाले सत्ता गठबन्धनका लागि भरतपुर कति प्राथमिकतामा छ भन्ने प्रस्ट छ । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठदेखि पूर्व प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीसम्म पौडेलको उम्मेदवारी फिर्ता गराउन लागि परे ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मका आश्वासका अघिल्तिर पौडेल डगमगाएनन् । उनको उम्मेदवारी कायम तर पौडेल स्वयं भने कांग्रेसको साधरण सदस्य समेत रहेनन । ७१ बर्षिय पौडेललाई जीवनको उत्तरार्द्धमा आफैंले काम गरेको पार्टीले निकाल्यो ।

यतिका शक्ति लाग्दा जगन्नाथ पौडेल आफ्नो उम्मेदवारी फिर्ता लिन किन राजी भएनन् ? सबैभन्दा पेचिलो प्रश्न बनेको छ अहिले । पौडेलको अडानको तागत के हो भनेर विश्लेषण गर्नुअघि एकछिन पृष्ठभूमिमै जाऔं । चितवनको भरतपुर महानगरपालिका क्षेत्र तुलानात्मक रुपमा कांग्रेसको बलियो क्षेत्र हो । कांग्रेसका १५ हजार भन्दा बढी क्रियाशील सदस्य यहींका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाले कांग्रेसकै सहयोगमा जितिन् ।

चितवनमा कांग्रेसको अधिक संख्या संस्थापन इतर छ । सभापति देउवाको रुची विपरीतका पात्रहरु जिल्लाको नेतृत्वमा छन् र जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्छन् । अघिल्लो पटक रेनुलाई मेयर स्वीकार गरेका भरतपुरका कांग्रेस यसपटक कुनै पनि हालतमा माओवादीलाई कांग्रेसले समर्थन गर्न नहुने लाइनमा उभिए ।

चैत २० गते जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत र चैत २९ गते महानगरका वडा सभापतिहरुको बैठकले मेयर कांग्रेसले नछाड्ने निर्णय लियो । यसको जगमा टेकेर जिल्लाका नेतादेखि केन्द्रीय सदस्यसम्म काठमाडौं धाए । आश्वासन पाए । तर, सत्तारुढ गठबन्धनबीचो भागवण्डामा भरतपुर माओवादीले नै पायो ।

महानगरको मेयरलाई बटमलाइन बनाएका कतिपय जिल्लाका नेता पार्टी केन्द्रको निर्णय भनेर त्यसलाई बोकेर हिँड्न थाल्दा जिल्लाका पुराना नेता भने बटमलाइनमा नै अडिए । चितवन कांग्रेसको ‘टल पर्सनालिटी’ बनाएका पूर्व सभापति कृष्णलाल सापकोटाको नेतृत्वमा पूर्व सभापति, केन्द्रीय सदस्य, क्षेत्रीय सभापति, वडा सभापति, पूर्व सांसदहरु एक ठाउँमा उभिए ।

कसैले महानगरको मेयरमा उम्मेदवारी नदिए म दिन्छु भनेर कस्सिएका सापकोटासहितका नेताहरुको पहलमा कांग्रेस पार्टी कार्यालयमा भएको असन्तुष्ट नेता कार्यकर्ताको भेलाले जगन्नाथ पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय लियो ।

८४ बर्षीय नेता सापकोटा प्रस्तावक बसे भने, चितवनको महिला आन्दोलनमा अग्रणी छवि बनाएकी नेता मीना खरेल प्रस्तावक बसिन् । यो पक्षले प्रस्तावक र सर्मथकका कारण भोलि उम्मेदवारीमा नै धक्का लाग्न सक्छ भन्ने बुझेर कुनै पनि प्रलोभनमा पार्न नसक्ने ब्यक्तिहरुलाई सुझबुझ ढंगले छानेको देखिन्छ । सो कुरा गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठको बागी उम्मेदवारी फिर्ता गराउने असफल प्रयासले पनि पुष्टि गरेको छ ।

सकेसम्म पौडेललाई नै फकाएर बागी उम्मेदवारी फिर्ता गराउने, नभए समर्थक वा प्रस्तावकमध्ये एउटालाई फिर्ता गर्न लगाउने उनीहरुको योजनामा सापकोटा र खरेलको अडानकै कारण तुषारापात भयो ।

पौडेलका पछाडि कांग्रेसका चितवनको ठूलोपंक्ति लामवद्ध बन्दै गएको देखिन्छ । उम्मेदवारी दर्ता गराउन देखिएको ठूलो सर्मथनले पौडल उत्साहित हुँदा सत्ता गठबन्धनलाई निर्वाचनको नतिजामा प्रभाव पर्ने हो कि भन्ने चिन्ता छ ।

सत्ता गठबन्धनले भरतपुरलाई प्रतिष्ठाको विषय बनाउनु र बागी दिएका पौडेललाई फिर्ता गराउन अनेकन दबाव दिनुले फाइदा पौडेललाई नै भएको देखिन्छ । पौडेललाई सत्ता गठबन्धनले धेरै महत्व नदिएको भए उनको पक्षमा यति महौल नउठ्न पनि सक्थ्यो तर अहिले पौडेल राष्ट्रिय राजनीतिको केन्द्रमा तानिए र चर्चा पाए ।

यसले उनको अभियानलाई थप बल पुगेको पौडेल पक्षकै नेता भीमबहादुर श्रेष्ठ बताउँछन् । उनको बारेमा भरतपुरका चोक चोकमा भइरहेको चासोले पौडेलको प्रचार भएको देखिन्छ ।

कांग्रेस अन्तरद्वन्द्वमा फसेको कारण सत्ता गठबन्धन चुनावी प्रचारमा गतिलोसँग होमिनसमेत सकेको छैन । एमाले राप्रपा गठबन्धनबाट मेयर पदमा उम्मेदवार बनेका विजय सुवेदीले प्रचार तथा घरदैलोलाई तीब्र पारिरहँदा सत्ता गठबन्धन निर्वाचन कार्यालय उद्घाटनसम्म आइपुगेको छ ।

केन्द्रीय नेताको दबावका कारण तनावमा रहेका पौडेल शनिबारबाट चुनावी अभियानमा होमिने तयारीमा छन् । भरतपुर ७ कृष्णपुरस्थित निवासमा दिनहुँ भेला हुने, त्यहीँ नै मेस चलाएर खाना खाने र चुनावमा लाग्ने तयारीमा उनी पक्षिय कार्यकर्ता छन् ।

कार्यकर्ताले दिइरहेको ब्याकअपले पौडेल उत्साहित देखिन्छन् । उनले भन्दै आएका छन्, नसोचेको सर्मथन पाइरहेको छु, चितवन कांग्रेसका कार्यकर्ताको भावनाको प्रतिनिधित्व गरेको मात्रै हुँ, उहाँहरुको भविष्यका लागि भने पनि मैले लड्नै परेको छ, नत्र कांग्रेस नरहने अवस्थामा छ ।’

पौडेल कानुन व्यवसायी हुन् । उनलाई साथ दिन दिनहुँ पौडेल निवासमा पुग्ने कांग्रेसका कार्यकर्ता दीपक अधिकारीले पौडेलको अडानका पछाडि नेता कार्यकर्ताको ठूलो बल र उहाँको आत्मविश्वासले काम गरेको बताउँछन् ।

‘उहाँ कुनै पनि लोभमा फस्ने मान्छे हैन, के के कुराको अफर आएन, तर उहाँले कार्यकर्ताको भावनाको सधै सम्मान गर्नुभयो, नेताको दवावको केही जोर चलेन’ युवा नेता अधिकारीले भने, ‘अघिल्लोपटक पनि माओवादीलाई सहयोग गरेकै हो, यसपटक पनि प्रचण्डको छोरीलाई सहयोग गरेर मात्रै पुग्दैन, मंसिरमा फेरि बाउलाई पनि कांग्रेसले नै बोक्नपर्ने हुन्छ, अब अति भयो।’

उनले पौडेलकोमा आउने कांग्रेसको हरेक नेता कार्यकर्ताले कहिलेसम्म माओवादीका लागि बलिदानी दिनुपर्ने भनेर प्रश्न मात्रै सोध्ने गरेको बताए ।

पौडेलको बागीले कस्तो पर्ला नतिजामा प्रभाव ?

पौडेलको बागीले सत्ता गठबन्धनको मतमा प्रभाव पार्ने देखिएकै कारण सरकारका मन्त्रीहरुसमेत दवाव दिन आएको कुरा प्रस्ट नै हुन्छ । पौडेलको पक्षमा कांग्रेसको ठूलो नेता कार्यकर्ताको पंक्ति जानसक्ने सम्भावना भएकै कारण सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालको जित सहज नहुने विश्लेषण भरतपुरमा गर्न थालिएको छ ।

अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा समेत कांग्रेसको मत रेनु दाहाललाई सोचे जस्तो गएको थिएन । त्यतिबेला कांग्रेस भित्र अहिलेको जस्तो रडाको थिएन ।

त्यसबेला महानगरको मेयरमा रेनु दाहालले ४३ हजार १२७ मत ल्याएर जित्दा एमालेका एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याए । फरक जम्मा २०३ मतको मात्रै थियो । राप्रपाबाट मेयर उठेका बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याए । उपमेयरमा कांग्रेस माओवादी गठबन्धनबाट जितेकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जितिन् । एमालेकी दिव्या शर्माले ३९ हजार ५२५ मत ल्याइन् ।

त्यसबेला नै मेयर उम्मेदवार रेनुलाई भन्दा उपमेयर उम्मेदवारको मत चार हजार बढी आएको देखिन्छ । २९ वटा वडा रहेको महानगरमा वडागत रुपमा हेर्दा कांग्रेसले ३८ हजार १३७, एमालेले ३८०७९ र माओवादीले २० हजार ३३२ मत ल्याएको देखिन्छ ।गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ जना मतदाता थिए ।

यसपटक मतदाता ३५ हजार ४७८ बढेर १ लाख ८५ हजार ७ सय ५२ पुगेको छ । बढेको मतदातालाई दलिय रुपमा नै विभाजन गर्दा पनि प्रतिस्पर्धा पेचिलो देखिन्छ । अघिल्लोपटक २०३ मतले हारेको एमाले यसपटक झण्डै ८ हजारभन्दा बढी मत लिएर बसेको राप्रपासँग महानगरमा तालमेलमा छ । लोकप्रिय उम्मेदवार विजय सुवेदीलाई एमालेले मेयरमा उठाएको छ । यसले पनि सत्ता गठबन्धनलाई तनाव थपिदिएको छ ।

सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालका लागि सुखद पक्ष भनेको उनले केही लोकप्रिय मत पाउने देखिन्छ । तर, त्यो जितका लागि पर्याप्त नहुन सक्छ । बागी बनेका उम्मेदवार पौडेलले बाँकी १४ दिनमा उठाउने चुनावी अभियानले नतिजालाई प्रभाव पार्छ । भरतपुरमा कांग्रेस जोगाउन भन्दै उम्मेदवारी दिएको र त्यसकै बदलामा पार्टीबाट कारवाही भोगेको विषयले कांग्रेस कार्यकर्ता र मतदाताको मन र मतलाई जोड्न सक्छ ।

एमाले राप्रपाका लागि पौडेलको उम्मेदवारी कायम रहनुभन्दा फिर्ता हुँदा नै फाइदा हुने अवस्था थियो । कांग्रेसका रुष्ट बनेका कार्यकर्ता र मतदाताले एमालेलाई मत दिनसक्थे । अब पौडेलले तान्ने कांग्रेसको मतको भोल्यूमले सत्ता गठबन्धनको जित र हारको निर्धारण गर्नेछ ।

रुखमा पानी हाल्न खोज्दा बली चढ्न परे पनि तयार छु : पौडेल

उम्मेदवारी फिर्ताको समय गुज्रिएपछि पौडेलले शुक्रबार साँझ आफ्नो घरमा जम्मा भएका नेता कार्यकर्तालाई भावनात्मक सम्बोधन गरे । उम्मेदवारी फिर्ता नलिएकै कारण जीवनका उर्जाशील समय विताएको पार्टीबाट निश्कासनमा पर्दा पौडेल भावुक मात्रै थिएनन्, कांग्रेस बचाउने अभियानको नेतृत्व गर्न पाएको खुसी लागेको बताउँदै थिए । प्रस्तुत छ कार्यक्रममा पौडेलले दिएको अभिव्यक्ति ।

आजबाट नयाँ इतिहासको प्रारम्भ भयो ।हामीले राजनीतिक अनेक चरणहरु पार गरेर, अनेक उत्तारचढावको सामाना गरेर ल्याएको गणतन्त्र असफल हुन थाल्यो । संविधानको दुरुपयोग गरेर जहानियाँ राणा शासनको झझल्को देखिन थाल्यो । यो खालको उकुसमुकुसको अवस्था चिर्न पर्ने थियो।कांग्रेसले निकाले पनि पार्टीसँगको आवद्धता रहिरहनेछ ।

लोकतन्त्र प्रतिको प्रतिवद्धता नेपाली जनताप्रति सर्मपित हुनेछ । म अग्रजहरुको प्रेरणाबाट यहाँसम्म आउन सके । पार्टीमा योगदान दिएका, पार्टी जोगाउनुपर्छ बलियो बनाउनुपर्छ भन्नेहरु, समर्थन गर्नेहरु विस्तारै भित्ता लाग्न थाले । कांग्रेस बचाउन पर्छ भन्नेहरु पार्टी विरोधी हुन थाले ।

कांग्रेसको विधानले निर्वाचनमा रुख चुनाव चिह्न हुनेछ भनेको छ । रुखमा लड्छु भन्नेहरु, चारतारे झण्डा बोक्नेहरु पार्टी विरोधी भए । नेपाली कांग्रेस भन्ने तर हसियाँ हथौडामा भोट हाल भन्ने ? यस्तो पनि हुन्छ ?गठबन्धन गरेर लोकतन्त्रलाई क्षति पुग्छ भने के का लागि गठबन्धन ?

गठबन्धनका कारणले पार्टी पार्टी बीचमा अन्तद्वन्द्व बढ्यो । यो अति विकृत छ । आज एउटा पार्टीसँग छ भोली उज्यालो नहुँदै अर्को पार्टीसँग गठबन्धन गरेको छ । कर्तब्य के हो ? देश र जनताप्रतिको उत्तरदायित्व के हो ?

गठबन्धनका बारेमा हामीलाई धेरै भन्नु छैन, पार्टीले गठबन्धनको हितमा निर्णय गरेको होला तर कांग्रेसको हितमा निर्णय भयो की भनेर किन नसोध्ने ? किन जताजतै विद्रोह भयो ? किन कांग्रेस कार्यकर्ताको मन दुख्यो ? मन रोयो ?यति भद्धा दृश्य किन यस्तो भो । उम्मेदवारी फिर्ता लिन दबाव दिइयो । मैले जनताको आदेशका कारणले फिर्ता नगरेको हो ।

म नेताका भन्दा यी कार्यकर्ताका कुरा सुन्छु । म कुनै हिसावले महानगरपालिकामा निर्वाचित भइन भने पनि मूल्यको राजनीति छाड्दिन् । सबै कुराहरु आफ्नो स्वार्थ अनुकुल ब्याख्या गरेर हुँदैन । हाम्रो पार्टीभित्र पनि केन्द्रीय राजनीतिमा केही चित्र देख्यौं । हामी आफ्नो आदर्श, सिद्धान्त र निष्ठामा लाग्छौं । यस्ता कारर्वाही पञ्चायत र राणाकालमा पनि भएका हुन् ।

लोकतन्त्रवादीलाई कारवाहीको डण्डाले रोक्न सक्दैन । हामी कांग्रेस हौं । रुखमा पानी हाल्न आफू बली चढ्न परे पनि तयार छौं । कांग्रेसको चुनाव चिह्न रुख अपमानित छ । त्यो रुखले मलजल पाएको छैन । हसिँया हथौडालाई भोट हाल्दिन भन्दा म बागी बिद्रोही हुन्छु । मलाई रुखमा भोट हाल्न नदिने तपाईं विद्रोही कि म ?

तपाईंले चलाएको डण्डाले कुनै असर गर्दैन । कानुनी र नैतिक हिसाबले पनि कारवाहीको अर्थ छैन । मैले कांग्रेसको रुख चिह्नको उम्मेदवारका विरुद्धमा उम्मेदवारी दिएको हैन । कांग्रेसले रुख चिह्नबाट लड्न पाउनुभन्दा भनेर उम्मेदवारी दिएको हो । कसरी म बागी भएँ ?

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु