पत्रकार उमाकान्त पाण्डेलाई कानुनी कारबाही गराउन राजदूत नै लागिपरे

२०७८, १६ चैत्र बुधबार ००:०३

काठमाडौँ: सामाजिक सञ्जाल फेसबुकमा यूएईस्थित नेपाली दूतावासलाई लक्ष्य गरेर धारणा राखेका पत्रकार उमाकान्त पाण्डेलाई कानुनी कारबाही गराउन आबुधाबीस्थित नेपाली दूतावास र राजदूत नै लागिपरेको नेपाल पत्रकार महासंघले दाबी गरेको छ ।
पाण्डे डेढ महिनायता दुबई जेलमा थुनामा छन् ।
यूएईमा देखिएको भिजिट भिसाको दुश्चक्र र त्यसमा दूतावासको सन्देहास्पद गतिविधिबारे पत्रकार पाण्डेले फेसबुकमा धारणा राखेकै कारण प्रतिशोधस्वरूप नेपाली दूतावासले यूएई सरकारलाई अनुरोध गरेरै थुनामा पठाएको प्रमाण आफूहरूले पाएको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए । ‘यसमा राजदूत कृष्णप्रसाद ढकालसहितका कर्मचारीको संलग्नता देखिएकाले मंगलबार परराष्ट्र मन्त्रालयलाई सबै प्रमाणसहित ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘विदेशमा रहने नेपालीको सुरक्षामा नेपाली दूतावास र राजदूत लागेको देखिएन, जनसरोकारको मुद्दामा राखेको एउटा धारणाकै कारण पत्रकारलाई थुनामा पठाउनेसम्मको कूटनीतिक हर्कत निन्दनीय छ ।’

महासचिव पुरीले परराष्ट्र सचिव भरत पौड्यालसमेतका पदाधिकारीलाई भेटेर राजदूत ढकालको ‘नियतपूर्ण कामकारबाही’ बारे जानकारी गराएको जानकारी दिए । दूतावासका जनसम्पर्क अधिकृत इरफान आलमले पत्रकार पाण्डेलाई कारबाही गर्नेबारेका सम्पूर्ण प्रक्रिया अघि बढाएको र दूतावासका तर्फबाट यूएईको अपराध अनुसन्धान तथा थुना केन्द्र (सीआईडी) मा सम्पूर्ण कागजी प्रक्रिया अघि बढाएको प्रमाण फेला परेको महासंघले जनाएको छ ।
पाण्डेका भिनाजु पीताम्बर भुसालका अनुसार गत माघ अन्तिम सातामा उनले नेपाल आएकै बेला पुस २४ मा फेसबुकमा यूएई दूतावासबारे लेखेका थिए । यहाँबाट फर्किएर दुबई पुगेपछि उनलाई फागुन ३ मा पक्राउ गरिएको हो । आफ्नो सालोलाई अनाहकमा थुनामा राखिएकोबारे जानकारी गराउन अर्घाखाँचीबाट काठमाडौं आएका भुसालले भने, ‘दूतावास वा राजदूत भनेको आफ्ना नागरिकको हकहित र सुरक्षाको अभिभावक निकाय हो । तर आबुधाबीस्थित नेपाली दूतावासले व्यक्तिगत प्रतिशोधको कामकारबाही गरेको छ ।’ पाण्डेले फेसबुकमा ‘यूएईमा भिजिट भिसाको समस्या कहिल्यै समाधान हुँदैन, किनकि भिजिट भिसालाई प्रोत्साहन र सहयोग दूतावास आफैंले गरिरहेको छ’ लेखेका थिए । उनी एक दशकदेखि दुबईमा छन् ।

पाण्डेको मुद्दामा दुबई उच्च अदालतले ३ महिना जेल, ८ लाख रुपैयाँ जरिवाना तथा मोबाइलसहितको सम्पत्ति जफत गर्ने प्रारम्भिक फैसला गरिसकेको छ । भुसालका अनुसार अब नेपाल सरकारकै तर्फबाट राजदूत ढकालले यूएईको उच्च अदालतमा उक्त मुद्दा फिर्ताका लागि अपिल गरे मात्रै पत्रकार पाण्डे थुनामुक्त हुन सक्छन् । आबुधाबीस्थित नेपाली राजदूत र दूतावासको स्वेच्छाकारी कदमको विरोधमा पत्रकार महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको गतिविधिबारे अन्तर्राष्ट्रिय पत्रकार महासंघ, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट, रिपोर्टर विदाउट बोर्डरसहितका निकायलाई जानकारी गराएको जनाएको छ । यसअघि, एक नेपाली श्रमिकसँग व्यक्तिगत प्रतिशोध राख्दै देशनिकाला (डिपोर्टेसन) गर्ने निर्णय गराएपछि कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्मालाई नेपाल सरकारले फिर्ता बोलाएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु