ठूलो र्‍याली पछि नेप्समा सामान्य करेक्सन, साप्ताहिक चार्ट दिशाहीन

२०७८, १६ माघ आईतवार ०९:१७

यस साताको अन्त्यमा नेप्से परिसुचक पछिल्लो हप्ताबाट -५.१६% को गिरावट सँगै २७७९.९८ अंकमा कायम रहेको छ भने कारोबार बढेर करिब २८.९७१ अर्बको भएको छ।

गत साता बढेको बैंक वित्तिय संस्थाहरुको निक्षेप यस साता भने घटेको छ। गत साता निक्षेप परिचालनमा रु.१९ अर्ब र कर्जा प्रवाहमा रु.२१ अर्बको वृद्धि देखिएकोमा यो हप्ता निक्षेप रु.१५ अर्बले घटेको छ भने कर्जा रु.६ अर्बले थप विस्तार भएको छ। यस अवधिमा “क” वर्गका वाणिज्य बैंकहरुको निक्षेप रु.५ अर्बले घटेको छ भने कर्जा रु.५ अर्बले विस्तार भएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म बैंक वित्तिय संस्थाहरुले रु.४,८५८ अर्ब निक्षेप परिचालन गरी रु.४,६६८ अर्ब कर्जा प्रवाह गरेका छन्। निक्षेप सङ्कलन र कर्जा प्रवाहको हिस्सामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको क्रमश ८८.५३% र ८८.८४% स्वामित्व रहेको छ भने बाँकी हिस्सा ‘ख’ वर्गका बिकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरुको रहेको छ। मंसिर महिनामा मात्र बैंक वित्तिय संस्थाहरुको निक्षेप रु.९ अर्बले घटेको थियो भने कर्जा प्रवाह रु.४७ अर्बले विस्तार भएको थियो। यस्तै, पौष महिनामा निक्षेप रु.१११ अर्बले कर्जा प्रवाह रु.४७ अर्बले बढेको थियो भने माघ लागे यता १३ दिनमा निक्षेप रु.४५ अर्बले घटेको छ भने कर्जामा रु.२ अर्बले विस्तार छ। हाल बैंक वित्तिय संस्थाहरुको निक्षेप र कर्जाको कुल ग्राह्यस्थ उत्पादनसँग अनुपात क्रमश ११३.८७% र १०९.४२% कायम रहेको छ। कर्जा प्रवाह कुल ग्राह्यस्थ उत्पादनको शत प्रतिशत भन्दा माथि हुँदा अधिकांश कर्जा भने कृषि तथा उत्पादन क्षेत्रमा भन्दा सेवा क्षेत्रमा प्रवाह भएको छ जसले दिर्घकालमा अर्थतन्त्रमा जोखिम निम्त्याउन सक्ने देखिन्छ। मंसिर मसान्तसम्म कुल कर्जाको २०.१६% थोक तथा खुद्रा व्यवसायमा प्रवाह भएको छ भने १७.२४% उपभोग कर्जा शिर्षकमा र बाँकी अन्य क्षेत्रमा प्रवाह भएको छ।

त्यस्तै, कर्जा-निक्षेप अनुपात (CD Ratio) अघिल्लो साता ९०.०९% रहेकोमा यस साता बढेर ९०.४८% कायम हुन आएको छ। मौद्रिक नीति अनुसार बैंक वित्तिय संस्थाहरुले २०७९ असार मसान्त भित्र कायम गर्नु पर्ने अधिकतम CD Ratio ९०% रहेको छ। CCD Ratio सम्बन्धि व्यवस्था खारेज भएकोले बैंक वित्तिय संस्थाहरुले आफ्नो प्राथमिक पूंजी (Core Capital) कर्जा प्रवाहको लागि उपयोग गर्न पाएका छैनन्। यस्तै, बैंक वित्तिय संस्थाहरुले तरलता व्यवस्थापन गर्नको लागि अघिल्लो साता रु.४.४४ अर्ब Overnight रिपो लिएकोमा यस साता पनि रु.५.१७ अर्बको रिपो लिएका छन् जसको वार्षिक व्याजदर ३.५% रहेको छ। साथै, बैंक वित्तिय संस्थाहरुले CD Ratio, नगद मौजदात अनुपात नियामकिय सिमा भित्र राख्न तथा अल्पकालिन तरलता व्यवस्थापन गर्नका लागि अन्तिम उपाएको रुपमा प्रयोग गरिने अस्थायी तरलता सुबिधा (SLF) उपकरण यस साता पनि प्रयोग गरेका छन्। अघिल्लो साता रु.१३७.१६ अर्बको अस्थायी तरलता सुबिधा लिएकोमा यस साता रु.१८४.११ अर्बको सो सुबिधा लिएका छन् भने आर्थिक वर्ष २०७८/७९ लागे यता रु.३,३३८.१७ अर्ब यस उपकरण प्रयोग गरेर तरलता व्यवस्थापन गरेका छन्। यस्तै, अघिल्लो साता ४.९७% रहेको अन्तर बैंक व्याजदर यस साता बढेर ५% कायम हुन आएको छ। बैंक वित्तिय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तारको वृद्धिदर बढी हुनु, Overnight रिपो र अस्थायी तरलता सुबिधा उपकरणहरु प्रयोग गर्नु र अन्तर बैंक व्याजदर पनि उच्च रहनुले बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापन असहज रहेको जनाउछ। बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनमा समस्या भएकोले राष्ट्र बैंकले गएको ५ महिनामा ११ पटक गरी रु.२४० अर्ब बराबरको रिपो जारी गरिसकेको छ जुन परिपक्क भईसकेका छन्। यस्तै, मंसिर १७ र २४ गते राष्ट्र बैंकले “सोझै खरिद” (Outright Purchase) उपकरण प्रयोग गरी बैकिङ्ग प्राणालीमा रु.२७.२१ अर्ब बराबरको तरलता प्रवाह (Inject) गरेको छ।

अघिल्लो साता घटेर रु.२८.६६ अर्ब सङ्कलन भएको सरकारको आय यस साता पनि ४३.२७% ले घटेर रु.१६.२६ अर्ब सङ्कलन भएको छ। यस्तै, चालु आ. व. को ६ महिनामा रु.५९०.१३ अर्ब सङ्कलन भएको छ भने माघ १३ गते सम्म रु.६१५.२६ अर्ब सङ्कलन भएको छ जसमा ८३.७४% कर राजस्वबाट रहेको छ भने बाँकी अन्य गैर कर राजस्व, अनुदान प्राप्त तथा अन्य आय रहेका छन्। आर्थिक वर्षको ६ महिना १३ दिन समय व्यतित भएको अवस्थामा लक्ष्यको ४९.६०% आय सङ्कलन भएको छ।

त्यस्तै, खर्च तर्फ गत साता घटेर रु.१९.६४ अर्ब खर्च भएकोमा यस साता भने ७.९८% ले बढेर रु.२१.२१ अर्ब खर्च भएको छ। माघ १३ गते सम्ममा कुल खर्च रु.५४२.४२ अर्ब पुगेको छ जुन बजेट लक्ष्यको ३३.२२% मात्र रहेको छ। कुल खर्च मध्ये सर्वाधिक चालु खर्च ८०.२१%, पूंजीगत तर्फ १०.१५% रहेको छ भने वित्त व्यवस्थापन तर्फ ९.६४% रहेको छ।

आर्थिक वर्षको आधा अवधि समाप्त भईसकेको अवस्थामा बिकास खर्च लक्ष्यको १४.५६% मात्र खर्च हुनु तरलता व्यवस्थापन समस्याको मुख्य कारण हो। यस्तै, राष्ट्र बैंकले सरकारको तर्फबाट तेश्रो त्रैमासमा रु.१००.५० अर्ब र चौथो त्रैमासमा रु.१३२.५० अर्ब गरी कुल रु.२३३ अर्ब आन्तरिक ऋण जारी गर्ने तालिका सार्वजनिक गरेको छ जस मध्ये २ वर्ष अवधिको रु.१० अर्ब बराबरको ऋण “बिकास ऋणपत्र २०८० ङ” जारी गरी सकेको छ भने अन्य सरकारी ऋणपत्रहरु निस्काशनको प्रकृयामा रहेका छन्। सरकारी खर्च लक्ष्य अनुसार हुन नसक्दा आन्तरिक ऋणले तरलता व्यवस्थापनमा थप चुनौती निम्त्याउने देखिन्छ।

नेप्से सुचकको औसत मुल्य र आय अनुपात ३४.८१ रहेको छ, जुन अघिल्लो हप्ता भने ३७.१५ थियो। बैंकिङ्ग समुहको २१.४६, जलविद्युत समुहको ३२.८६, उत्पादन समुहको ३२.८९ र बिकास बैंकको ३२.६२ सँगै नेप्सेको औसतमुनि रहेका छन भने बाँकी औसतभन्दा माथि छन। मुल्य आम्दानि अनुपात, बजार मुल्य र किताबी मुल्य अनुपात र डिभिडेन्ड ईल्ड्को हिसाबले वाणिज्य बैंक तुलनात्मक रुपमा अरु सेक्टर भन्दा मूल्यवान (Undervalued) देखिन्छ। आधारभुत अनुपातहरु PE र PB जति थोरै भयो उती राम्रो मानिन्छ भने Dividend Yield चाँही जती बढी भयो त्यतिनै राम्रो मानिन्छ। यि औसत संगै समग्र बजारको लगानी वातावरण, लगानी गर्ने कम्पनीको समुहको व्यापार वृद्धिको संभावना, बजार मनोवैज्ञानिक स्थिति, कम्पनीको आय वृद्धि, स्थिरता जस्ता आदि कारकहरु पनि हेर्नु आवश्यक हुन्छ। केहि सामान्य डाटा तल तालिकामा दिइएका छन्।

गएको चार हप्तामा, सेक्टर रोटेसन (Sector Rotation) को हिसाबले शिर्ष ३ मा जलविद्युत, वित्त र लगानी समुहका लगानीकर्ताले अधिक कमाएका छन् भने वाणिज्य बैंक, उत्पादन र होटल तथा पर्यटन समुहका लगानीकर्ताहरूले तुलनात्मक हिसाबले थोरै कमाएका छन।

Comments

ताजा खबर