११ महिनासम्म पाएनन् नतिजा, अर्थहीन भए शिक्षामन्त्रीको अनुगमन र निर्देशन

२०७९, १५ जेष्ठ आईतवार ११:११

काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा स्नातक तह दोस्रो वर्षको नतिजा ११ महिनासम्म आएको छैन । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीले खाइपाइ आएको प्रोत्साहन भत्ता आन्तरिक रूपमा नमिल्दा त्यसको मार विद्यार्थीले भोग्नुपरेको हो ।

पनिकाका कर्मचारीको भत्ता वितरणमा आन्तरिक असन्तुष्टि रहेको र त्यसले कामसमेत प्रभावित भएकाले विद्यार्थीको नतिजामा असर देखिएको त्रिवि स्रोतले जनायो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने पनिकामा कर्मचारी अभावका कारण समयमा नतिजा निकाल्न कठिन भएको बताएका छन् । उनले बिए दोस्रो वर्षको नतिजा अब तत्काल आउने बताए । शनिबारसम्म सार्वजनिक गरिसक्ने तयारी भए पनि केही प्राविधिक कारणले नसकिएको र तत्काल सार्वजनिक गर्ने जोशीको दाबी छ । व्यवस्थापन संकायलगायतका नतिजा भने केही दिनअघि मात्रै सार्वजनिक भएको छ । पनिकामा साढे दुई सय कर्मचारी हुनुपर्नेमा डेढ सयको हारहारी मात्र रहेको प्रशासनले जनाएको छ ।
समयमै नतिजा नआउँदा रोजगारीका अवसरबाट वञ्चित हुनुपरेको विद्यार्थीको गुनासो छ । विद्यार्थी सुदीप कर्णले नतिजा नआउँदा धेरै समस्यामा परेको बताए । उनले विद्यार्थीको भविष्यप्रति जिम्मेवार निकाय नै संवेदनशील नदेखिएको बताए ।
दोस्रो वर्षको नतिजा नआए पनि विद्यार्थी भने तेस्रो वर्षको समेत परीक्षा दिएर बसेका छन् । तीनवर्षे मानविकी संकायका विद्यार्थीका लागि एउटा तह नै सकिएको छ, तर दोस्रो र तेस्रो वर्षको नतिजा आएको छैन । अघिल्लो वर्षको परीक्षा दिएर माथिल्लो वर्षमा पढेका विद्यार्थीको परीक्षा आउँदासम्म नतिजा आएको छैन । नतिजामा ढिलाइ मात्र होइन कतिपय विषयमा प्रयोगात्मक नम्बर नआउने, छुट्नेलगायत कारणले विद्यार्थीले दुःख पाउने गरेका छन् ।

अर्थहीन भए शिक्षामन्त्रीको अनुगमन र निर्देशन

वार्षिक तथा सेमेस्टर प्रणालीका परीक्षाका नतिजा आउन ढिलाइ हुने गरेको जानकारी पाएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले केही महिनापहिले त्रिभुवन विश्वविद्यालयको अनुगमन गरेका थिए । अनुगमनका क्रममा पनिका बल्खु पुगेका मन्त्री पौडेलले समयमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए । मन्त्री पौडेलले कुनै पनि बहाना नगरी समयमै नतिजा निकाल्न आग्रह गरेका थिए । तर, मन्त्रीले अनुगमन गरे पनि नतिजामा सुधार भए–नभएको कुनै वास्ता नगर्दा समस्या जहाँको तहीँ रहेको कर्मचारीले बताए । परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक र डिन कार्यालयहरूले सेमेस्टर प्रणालीका परीक्षा सञ्चालन गर्दै आएका छन् ।
शिक्षामन्त्री पौडेलले केही महिनापहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको समेत अनुगमन गरेका थिए । उनले समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन निर्देशन दिएका थिए । तर, यस वर्ष जनक शिक्षाबाट प्रकाशन हुने विद्यालय तहको पुस्तक अभाव छ । कक्षा ४ देखि १० सम्म पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षाले सबै कक्षाको पुस्तक पुर्‍याउन सकेको छैन भने लाखौँ थान पुस्तक छपाइ गर्न बाँकी छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु