देउवा नै आए पनि उमेदवारी फिर्ता हुन्न

२०७९, १६ बैशाख शुक्रबार १५:४६

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै आए पनि आफ्नो उमेदवारी फिर्ता नहुने अडान लिएका छन् ।
सत्ता गठबन्धनबीच भागबन्डा हुँदा भरतपुर महानगरपालिकाको प्रमुख पद नेकपा (माओवादी केन्द्र)लाई छोडिएपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताको प्रतिनिधित्व गर्दै उनले स्वतन्त्र उमेदवारी दिएका छन् । शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले भेटका लागि राखेको प्रस्ताव समेत पौडेलले अस्वीकार गरेका थिए ।

चितवन कांग्रेसका कार्यकर्ताको भावनाअनुसार आफू प्रमुखको उमेदवार भएको भन्दै उनले अब सभापति देउवा नै आए पनि फिर्ता नहुने बताए । “म चितवन कांग्रेसका कार्यकर्ताको भावनाअनुुसार अघि बढेको हुँ । म उहाँहरूकै साथ, सहयोग र भरोसामा अघि बढिरहेको छु,” पौडेलले बाह्रखरीसँग भने, “अब सभापति शेरबहादुर देउवा नै आए पनि मेरो उमेदवारी फिर्ता हुन्न ।”
अब नेताहरू होइन, मतदाता भेट्नुपर्ने उनी बताउँछन् । “नेपाली कांग्रेसले चितवन र भरतपुर महानगरपालिकामाथि अन्याय गरेको छ । एकपटक होइन, पटक–पटक कांग्रेस भएबापत लज्जित हुने अवस्था निर्माण गरेको छ,” उनले भने, “चितवनका जनता र कांग्रेसका कार्यकर्ता नेतृत्वको आदेशमा दुनियाँसामु शिर झुकाउन तयार छैनन् । उनीहरू तयार नहुँदासम्म मैले उमेदवारी फिर्ता लिएर आत्मसमर्पण गर्ने छैन ।”

उनका स्वकीय सचिव नवीन बरालका अनुसार अहिले पौडेल निवासमा कांग्रेस कार्यकर्ताको भिड लागेको छ । कार्यकर्ताले चितवनलाई न्याय गर्ने भए माओवादी केन्द्रको उमेदवारी फिर्ता हुनुपर्ने भन्दै न्याय गर्न नचाहने नेतृत्वको आदेश पालना पनि नहुने अडान राखिरहेका छन् ।
पौडेल जित सुनिश्चित गर्न उनीहरूसँग परामर्शमा छन् । महानगरपालिका हुनुअघि भरतपुरको मेयर भएसकेका पौडेल राष्ट्रियसभाका पूर्वसदस्य र वरिष्ठ अधिवक्ता समेत हुन् । केन्द्रीय नेतासँग अब उमेदवारीबारे वार्ता नै नगर्ने उनी बताउँछन् ।
केन्द्रमा शुक्रबार सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले गठबन्धनको निर्णयविपरीत उमेदवारी दिनेको सदस्यता खारेज हुने निर्णय गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु