कारागारमा दंगा हुँदा ५१ जना मारिए

२०७९, १४ असार मंगलवार २२:१२

काठमाडौँ : कोलम्बियाको एक कारागारमा दंगा हुँदा ५१ जना मारिएका छन् । कोलम्बियाको तुलुवा सहरस्थित क्वेजोन सिटी जेलमा रातभर बन्दीहरूले प्रदर्शन गर्दा आगजनीसमेत भएको थियो ।
अधिकारीहरूका अनुसार यो कोलम्बियामा पछिल्लो समय भएका सबैभन्दा खराबमध्येको एक घटना हो । जेलभित्र दंगा हुँदा कैदीहरूले सुत्न र बस्न प्रयोग गरिने केही गद्दाहरू जलाएका थिए । यस क्रममा आगो फैलिएर ४९ जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटनामा ३० जना घाइते भएका छन् । जहाँबाट अरु दर्जनौं बन्दीलाई सकुशल उद्धार गरिएको थियो ।

देशको दक्षिण-पश्चिम सहरमा रहेको उक्त जेलमा १ हजार २ सय ६७ बन्दी छन् । आगलागी भएको स्थानमा मात्रै १८० वटा घरहरू रहेको बताइएको छ । कोलम्बियाका प्राय: कारागारहरूमा क्षमताभन्दा ठूलो भीड हुने गरेको बताइन्छ ।
देशभर ८१ हजार बन्दी अटाउने क्षमताका जेल रहे पनि ९७ हजार जना बन्दीहरू रहेको तथ्यांक छ । हाल पोर्चुगल भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान ड्युकले मंगलबार भएको जेलभित्रको हिंसात्मक घटनाको छानबिन गरिने बताएका छन् । साथै उनले उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

यसअघि २०२० मा कोलम्बियामा भीडभाड र सेवा अभावविरूद्ध बन्दीहरूले प्रदर्शन गर्दा २० जनाभन्दा धेरै मारिएका थिए । त्यस क्रममा कोलम्बियाको सरकारले केही कैदीहरूलाई रिहा गरेको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु