वीरगञ्ज – ३० वर्षदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको प्रक्रिया सुरु भएको छ ।
अर्थ मन्त्रालयका सहसचिव नवराज ढुंगाना अध्यक्ष रहेको कारखाना सञ्चालक समितिको ६ कात्तिकमा वीरगञ्जमा बसेको बैठकले कारखाना सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।
एक वर्ष भित्र कारखानाबाट कृषि सामाग्री उत्पादन गर्न सुरु हुने दावी उनको छ ।
असोज ११ गते नै सरकारले कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइसकेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले पनि एक वर्ष भित्रमा ८/१० वटा औजार बनाउन थाल्नेगरि काम अघि बढेको बताए ।
‘पहिला मेसिनको अवस्था के कस्तो छ, कुन चल्छ ? कुन चल्दैन ? चलाएरै हेर्छौ, मेसिन र पूर्वाधारको मर्मत सम्भार हुन्छ,’ उनले भने, ‘सबैकुरा तन्दरुस्त गरिसकेपछि १०–१२ महिना भित्रमा ८–१० वटा औजार बनाउन सुरु गर्छौ ।’
३० वर्षसम्म थन्किएर बसेको कारखाना पूर्ण रुपमा सञ्चालनमा ल्याउन समय लाग्ने उनले बताए ।
०४६ सालमा बहुदल आएपछि राजनीति परिवर्तनको शिकार यो कारखाना बन्न पुग्यो । २०५९ देखि कारखानादेखि नै सञ्चालनमा आउन सकेको छैन । उत्पादकत्व बढाउन एवं कारखानालाई नाफामा सञ्चालन गर्न सरकारी उद्योगलाई नीजिकरण गर्ने योजना अनुरुप २०५४ सालमा कारखाना नीजिकरणमा गयो । कारखानाको ६५ प्रतिशत शेयर बिक्री गरेर सञ्चालनको जिम्मा नीजि क्षेत्रलाई दिइएको थियो ।
नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले सोभियत संघ सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखानाको स्थापना भएको थियो । कारखानाले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर राखेर कृषी औजार र यन्त्रहरु आपूर्ति गर्थ्यो। वायुसेवा निगम, नेपाल टेलिकम, विद्युत प्राधिकरण, दुग्ध विकास संस्थान लगायतले पनि आफूलाई आवश्यक समान यहीँ बनाउँथे ।