पहिरोमा २४ वर्षीया शर्मिला राना मगरको मृत्यु

२०७९, १० श्रावण मंगलवार २२:०९

धादिङ: गत रातिदेखिको वर्षाका कारण धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ र ४ मा मात्रै ३९ घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

पहिरोमा परी नीलकण्ठ नगरपालिका वडा नं ४ बेसारेमा २४ वर्षीया शर्मिला राना मगरको मृत्यु भएको छ । बाढीपहिरोले जिल्लाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ ।
बाढीले नीलकण्ठ ४ की भगवती न्यौपानेले पालेका ७ वटा बङगुर बगाएको छ । यस्तै धादिङबेसीस्थित अरुण खोलामा बाढी आउँदा खोला मिचेर बनाइएका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ । खोला किनारका घरहरू जोखिममा परेका छन् भने खेत, टहरा, अन्य सामानहरू पनि बाढीले बगाएको छ ।

नीलकण्ठ ४ स्थित अरुणखोला किनाराको टंकेश्वर इन्टरप्राइजेजको जस्तापाता, ड्रम, रड बगाउँदा १ करोड १९ लाख नोक्सान भएको बताइएको छ । बाढीले नीलकण्ठ ३ सिरानबजारमा कृष्ण श्रेष्ठले संचालन गर्दै आइरहेको भगवती फर्निचर उद्योग पनि बगाएको छ ।

पहिरोले विद्युतका चार वटा पोलहरूसमेत बगाएको छ । १२ वटा पोल उच्च जोखिममा छन् । पोल बगाउँदा जिल्लाको त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, गंगाजमुना गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । बजारको खानेपानीको पाइप बगाएको छ भने बोरिङ तान्ने सयभन्दा बढी मेसिन बगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

बाढीपहिरोले अरुण खोलाका दुईवटा मोटरेवल पुल जोखिममा छ भने विमिरे जाने झोलुङगे पुल बगाएको छ । पहिरोले जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने सडकहरू अवरुद्ध भएको छ । यस क्रममा चारवटा मोटरसाइकल बगाएको छ । सिँचाइ कुलो अवरुद्ध भएको छ भने चार सय रोपनी खेत बगाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु