बिर्तामोडका वडाले आर्थिक वर्ष २०७९/०८० का लागि १ करोड १५ लाख बजेट पाउने

२०७९, १२ जेष्ठ बिहीबार ०६:५७

झापा । बिर्तामोड नगरपालिकाअन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९- ०८० का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकमा वडाहरुबाट नीति तथा कार्यक्रम तय गरी २०७९ जेठ मसान्तसम्ममा नगरमा पेश गर्ने गरी उक्त निर्णय भएको हो ।

यस्तै बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा रहेको योजना अनुगमन समितिमा कार्यपालिकाको तर्फबाट वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी र वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वालाई सदस्यको जिम्मेवारी प्रदान गरेको छ । बैठकले नगर प्रमुख प्रसाईले पदभार ग्रहणका क्रममा गरेको २ वटा निर्णयलाई अनुमोदन गरेको छ । बिर्तामोड नगरभित्र रहेका सम्पुर्ण गरिब तथा असहाय परिवारहरुको मापदण्ड तयार गरी निःशुल्क स्वास्थ्य बीमा गरी विपन्नहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र नगरक्षेत्रभित्र रहेका सम्पुर्ण खेतीयोग्य जमिनहरुमा स्यालो ट्युवेल,कुलो तथा पैनी निर्माण गरी ५ वर्षभित्रमा सिँचाईको व्यवस्था गर्ने निर्णयलाई अनुमोदन गर्दै नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय भएको हो ।

बैठकले बिर्तामोड नगरपालिकामा रहेका सवारीसाधनहरु ग्रेडर,रोलर,जेसिभी,टिपर र पानी ट्याङ्करको नयाँ भाडादर पनि कायम गरेको छ । बैठकमा चालु आर्थिक वर्ष २०७८/०७९को कूल वार्षिक वजेट १ अर्ब ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएकोमा बैशाख मसान्तसम्मको आयतर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्ययमध्ये चालुतर्फ ३३ करोड ४० लाख ८५ हजार र पुँजीगततर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ व्यय भएको विवरण प्रस्तुत गरिएको थियो ।

यस्तै बुधबारको बैठकले २०७४ सालको स्थानीय निर्वाचनबाट बिर्तामोड नगरपालिकामा निर्वाचित भएर २०७९ साल जेठ ५ गतेसम्म कार्य गर्ने जनप्रतिनिधिहरुलाई विकास र समृद्विमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरेको छ । यस्तै स्थानीय तह निर्वाचन २०७९को मतगणना अवधिको लागि कर्मचारीहरुलाई दिएको विदा र दुर्गा माध्यमिक विद्यालय बिर्तामोड ९ गरामनीका शिक्षक दुर्गाप्रसाद निरौलाको गत चैत्र २० गते सडक दुर्घटनामा परी निधन भएकोले २१ गते बिर्तामोड नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा शोक विदा दिने निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ ।

बैठकमा बिर्तामोड नगर उपप्रमुख संग्रौला,प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना,लेखा शाखा प्रमुख तेजेन्द्र तामाङलगायत १० वटै वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Comments

ताजा खबर