सेवासुविधा नपाए पनि गाउँमै मतदान गर्न पाउनुपर्ने माग

२०७८, १४ फाल्गुन शनिबार ०८:३६

काठमाडौं: हुम्ला जिल्ला ताजाकोट गाउँपालिका–३ मासपुरका ५७ वर्षीय दानबहादुर बुढाले अहिलेसम्म ३ पल्ट मतदान गरे । सबै निर्वाचनमा उनी झन्डै १० घण्टा पैदल हिँडेर थापागाउँस्थित कैलाश प्राथमिक विद्यालय पुगेका हुन् ।

आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनमा पनि उनलाई फेरि १० घण्टा नै हिँडेर थापागाउँ पुग्नुपर्ने बाध्यता भएको छ । ‘अघिल्लो दिन गएर भोट हालेर चुनावको भोलिपल्ट गाउँ फर्कन्छौं,’ उनले भने, ‘अहिले त गाउँमै भोट हाल्न पाइएला भनेको नपाइने भो ।’
उनले स्थानीय तहका जनप्रतिनिधिसहित गाउँमा पुग्ने सबै नेता र विभिन्न कार्यालयका प्रतिनिधिसँग गाउँमै मतदान केन्द्र राख्न माग गरे पनि बेवास्ता भएको बताए । उनका छिमेकी कर्णबहादुर बुढाले यो पटक पनि भोट हाल्नकै लागि सास्ती पाउनुपर्ने भएको बताए । ‘अरूलाई अरूकै माग होला, अरू गाउँका समस्या त छन् नै, हाम्रा लागि पहिलो माग नै गाउँमा भोट हाल्न पाउनु हो,’ उनले भने ।

टाढा गएर मतदान गर्न समस्या भएपछि ज्येष्ठ नागरिक, अशक्त र महिलाहरू मतदानको अवसरबाट समेत वञ्चित भएको स्थानीय केशव बुढाले बताए । ‘हामी त जसोतसो भोट हाल्न जाउँला,’ उनले भने, ‘हिँड्न नसक्नेलाई कसरी लैजाने ?’ सरकारबाट पाउनुपर्ने अधिकांश सेवासुविधा नपाए पनि गाउँमै मतदान गर्न पाउनुपर्ने माग वर्षौंदेखि सुनुवाइ नभएको उनको गुनासो छ । उनका अनुसार मासपुरमा २२ घरधुरी छन् ।

स्थानीय धनवीर बुढाले भौगोलिक विकटताका कारण आफूहरू लामो समयदेखि सरकारी सेवा सुविधाबाट वञ्चित भएको बताए । उनका अनुसार वडा कार्यालय पुग्नसमेत १० घण्टा हिँड्नुपर्ने बाध्यता छ । ‘राज्यबाट पाउनुपर्ने अरू सुविधा त पाएनौं पाएनौं, कम्तीमा भोट हाल्ने ठाउँ गाउँमै बनाए विकासको अनुभूति हुन्थ्यो,’ उनले भने । उनले सदरमुकाम टाढा हुँदा आफू बसेको घरजग्गाको लालपुर्जासमेत बनाउन नपाएको बताए । उनका अनुसार सदरमुकाम जान कम्तीमा एक साताको समय छुट्याउनुपर्ने बाध्यता छ ।

मासपुरमा अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलसमेत नपुगेको बुढाले बताए । उनका अनुसार खाद्यान्न लिन पनि एक दिन पैदल हिँडेर थापागाउँ पुग्नुपर्ने बाध्यता छ । ‘एक दिन पैदल हिँडेर पनि ४/५ किलो चामल मात्र पाइन्छ,’ उनले भने, ‘त्यो चामल कति दिन पुर्‍याउने ?’ सरकारी ढुवानी अनुदानको चामल नपाइने भएपछि ५० किलोको एक बोरा ३ हजार रुपैयाँ तिरेर बजारबाट किन्नुपरेको उनले बताए । ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले भौगोलिक विकटता र कम घरधुरी भएका कारण मासपुरमा मतदान केन्द्र राख्न नसकिएको बताएका छन् । मासपुरमा खाद्यको चामल पठाउन पहल भइरहेको उनले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु