काठमाडौँ: इन्डोनेसिया र गाम्बियामा कफ सिरपका कारण सयौँ बालबालिकाको मृत्यु भएपछि नेपालमा पनि यसको सतर्कता तथा निगरानी बढाउन विज्ञहरूले जोड दिएका छन् ।
झण्डै १०० जना बालबालिकाहरूलाई मिर्गौलासम्बन्धी गम्भिर समस्या देखिएपछि इन्डोनेसियन सरकारले सबै सिरप र झोल औषधिमा प्रतिबन्ध लगाएको हो । केही साताअघि गाम्बियामा ७० जना बालबालिकाहरूको मृत्यु भएको घटनामा कफ सिरपको सम्बन्ध रहेको पाइएको थियो । इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ झन्डै २०० बालबालिकामा अक्यूट किड्नी इन्जरी (एकेआई) देखिएको छ। अधिकांश बालबालिकाहरू पाँच वर्षभन्दा कम उमेर समूहका छन्।
मिडिया ब्रिफिङमा इन्डोनेसियाका स्वास्थ्य मन्त्रालयका प्रवक्ता स्याहारिल मनसुरले हालसम्म २० वटा प्रान्तमा यसका २०६ वटा केसहरू भेटिएको र ९९ जनाको मृत्यु भइसकेको बताए ।उनले कफ सिरफ तथा झोल औषधिकै कारण समस्या देखिएको हुन सक्ने भन्दै सबै स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीहरूलाई झोल औषधि तथा सिरप तत्काललाई सिफारिस नगर्न आग्रह गरेका छन् ।प्रतिबन्धित औषधिहरूमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ रहेका छन्।यी सबै कफ सिरप भारतीय कम्पनी मैदन फर्मास्युटिकल्स लिमिटेडद्वारा हरयानामा बनेका हुन् । डब्लूएचओले यी उत्पादनले विशेषगरी बालबालिकामा गम्भीर असर र मृत्यु नै हुन सक्ने चेतावनी दिएर सूचना जारी गरेको थियो ।
ती सिरपहरूमा डाईथिलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ ‘अस्वीकार्य मात्रा’मा भेटिएको डब्ल्यूएचओको भनाइ छ । डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल मानव स्वास्थ्यकालागि विषाक्त हुन्छन् । यसले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन हुने र मिर्गौलामा गम्भीर असर पर्न गई मृत्यु हुन सक्छ ।
गाम्बियामा उपलब्ध रहेको सिरपहरू इन्डोनेसियामा प्रयोग नभएको ‘साउथ इष्ट एसियन कन्ट्रीज फुड एन्ड ड्रग’ एजेन्सीले जनाएको छ । इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी सादाकिनकाअनुसार केही बिरामी बालबालिकाहरूको घरमा प्रयोग भएका केही औषधिहरूमा पनि उस्तै रासायनिक पदार्थ भेटिएको बताएका छन्। ‘केही सिरपहरूमा इथोलन ग्लाइसोल र डाईथिलीन ग्लाइकोल समावेश भएको पाइएको छ । ती धेरैजसो पेन्ट, प्लास्टिक र कस्मेटिकमा पाइन्छ,’उनले भने । उनले कतिजना बिरामीमा ती विषाक्त औषधि प्रयोग भयो भएको खुलाएनन् । उनकाअनुसार मिर्गौला फेल सम्बन्धी केशहरू रिपोर्ट गरिएकाभन्दा पनि धेरै हुन सक्ने र निगरानी भइरहेको छ ।
गाम्बियामा प्रयोग गरिएको कफ सिरप इन्डोनेसियामा बिक्री नभएको स्वस्थ्य अधिकारीहरूले् बताएका छन् साथै प्रतिबन्धित औषधिहरू विदेशबाट आयातित हुन् वा स्थानीय उत्पादन हुन् त्यो हालसम्म खुलाइएको छैन । त्यसैगरी बिरामी बच्चामा प्रयोग भएको औषधिको ब्रँन्डबारे केही जानकारी दिइएको छैन र अनुसन्धान जारी छ ।
ग्रिफ्थ युनिभर्सिटिका इपिडिमियोलोजिस्ट डिकी बुडीम्यानले मृत्यु हुने बालबालिकाको वास्तविक संख्या यो भन्दा बढी हुन सक्ने बताएका छन् । भन्छन्–‘यस्ता घटनाहरू हुँदा सतहमा जे हुन्छ त्यो मात्र देखिन्छ । पीडितहरू अरु धेरै हुन सक्छन्।’
नेपालमा पाइने कफ सिरप सुरक्षित छ : औषधि व्यवस्था विभाग
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार हालसम्म नेपालमा उत्पादन भएका कफ सिरपहरू सुरक्षित नै रहेका छन् । उनले भने–‘भारतमा उत्पादित ४ प्रकारका कफ सिरपहरू हाम्रोमा छैन । उत्पादनकर्ताहरूलाई पनि त्यस्तो खालको केही समस्या छ भने जानकारी गराउन भनिएको छ । समस्या देखिएका देशहरूमा उनीहरूको औषधि बनाउने मिश्रणमै समस्या होला । हालसम्म हामी सुरक्षित नै छौँ। तत्काललाई समस्या देखिएको छैन।’
त्यसैगरी नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्ट्यान्डर्ड मेथडबाट बाहिर गएर औषधि नबनाइने भन्दै नेपालमा उत्पादन हुने कफ सिरपहरू सुरक्षित रहेको दाबी गरे । उनले भने–‘गाइडलाइन बाहिर गएर औषधि बन्दैन । संघका सबैलाई त्यस्तो केही खालको समस्या छ भनेर अलर्ट रहनुस् भनेर नोटिस जारी गरेका छौँ । हाम्रो त्यस्तो कुनै खालको अप्रिय घटनाहरू भएका छैन् । यसमा केही सम्भावित जोखिमहरू हुन्छन् भने छलफल गरिरहेका छौँ ।’ संघका अनुसार नेपालमा पाइने करिब ८० प्रतिशत कफ सिरप नेपालमै उत्पादन हुन्छन् । नेपाल र भारतको खुल्ला सिमानाले दर्ता नभएका औषधिहरू बिक्री हुन सक्ने डर भने रहेको संघका पाण्डेले बताए। ‘२५–३० प्रतिशतसम्मेबोर्डरमा दर्ता नगरिएका औषधिहरू बोर्डरमा पाइन्छ्। स्वास्थ्यसँग जोडिएको कुरा हो त्यसैले यसमा संवेदनशील त हुनैपर्छ । त्यस्तो औषधिहरू आउने सम्मावना रहन्छन् । निगरानी र सजग हुनुपर्छ,’उनले भने ।
कान्ति बाल अस्पतालमा कार्यरत बालछातीरोग विशेषज्ञ डा जगत जीवन घिमिरेले सकेसम्म कफ सिरपको प्रयोग नै नगर्न आग्रह गरेका छन् । उनी भन्छन्–‘कफ सिरप सकेसम्म कम प्रयोग गर्नुपर्छ र चिकित्सकको प्रेस्कृस्पन बिना प्रयोग गर्नु हुँदै हुँदैन । चिकित्सकले पनि एकदम कम सिफारिस गर्नुपर्छ ।मेडिकल पसलमा आफूखुसी किनेर बच्चाहरूलाई खुवाउनुहुँदैन।’ उनले बच्चाहरूलाई खोकी लाग्नेबित्तिकै कफ सिरफ नखुवाउन आग्रह गरे ।उनले खोकीको कारण पत्ता लगाए त्यही अनुसार उपचार गराउनुपर्ने सुझाए।
उनकाअनुसार केही खोकीहरू केही समय आफै निको हुँदै जान्छन् जस्तै रुघाखोकी । रुघाखोकीमा मह मिश्रित कफ सिरप लाभदायक हुन सक्ने तर ३–४ थरी मिश्रण भएको कफ सिरफहरू फाइदा भन्दा हानी नै हुने उनी बताउँछन् ।भन्छन्–‘धेरै अभिभावकहरूले कफ सिरफ खाएपछि बच्चा सुतेको सुतै गर्ने,लठ्ठ हुने, खान मन नगर्ने,मुटुको धड्कन बढ्ने, ग्लुकोज कम हुने खालका साइडइफेक्टहरू लिएर आएका हुन्छन्।’ उनले कुनै बच्चालाई कफ सिरपको प्रयोगले सिजर पनि आउन सक्ने बताए । ‘यी समस्या सबैलाई त हुन्न र केही बालबालिकाहरूमा हुन सक्छन् । कफ सिरफको फाइदा खासै छैन । ३ –४ थरी औषधिको मिश्रण हुने कफ सिरफले फाइदा होइन हानी हुन सक्छ,’ उनले भने।