नेपाल राष्ट्र बैंकले तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत पुग्ने जनायो

२०७९, ९ श्रावण सोमबार २१:०८

काठमाडौं: नेपाल राष्ट्र बैंकले तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत पुग्ने जनाएको छ । राष्ट्र बैंकले एक सर्वेक्षण जारी गर्दै आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने जनाएको हो । साथै एक वर्षमा मूल्यवृद्धि १३.५ प्रतिशत पुग्ने पनि राष्ट्र बैंकले प्रक्षेपण गरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’मा भनिएको छ- तीन महिना पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ । एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैत्र, २०७८ को तुलनामा थोरै घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन्। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन् ।

त्यस्तै, राष्ट्र बैंकले गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा बढेको जनाएको छ । तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा घटेको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणमा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु