बैंकहरुले कर्जामा लिने औषत ब्याजदर दोहोरो अंकमा, साना व्यवसायी १४ प्रतिशतसम्म ब्याजमा कर्जा लिँदै

२०७९, १२ बैशाख सोमबार १७:५९

काठमाडौं: वाणिज्य बैंककहरुको कर्जाको ब्याजदर फेरि महँगिएको छ। एकल अंकमा झरेको करिब १८ महिनापछि बैंकहरुले कर्जामा लिने औषत ब्याजदर दोहोरो अंकमा पुगेको हो। केन्द्रिय बैंकको तथ्याँक अनुसार माघदेखि नै बैंकहरुको औषत ब्याजदर दोहोरो अंकमा उक्लिएको छ। माघसम्म्मा औषतमा १०.३१ प्रतिशत रहेको बैंकहरुको कर्जाको औषत ब्याजदर फागुनमा १०.६० प्रतिशतमा पुगेको छ। चैतमा पनि यस्तो ब्याजदर अझै बढेको छ।

करिब १ वर्षदेखि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छैनन्। बरु उल्टै उनीहरुको ब्याजदर लगातार बढ्दै गएको छ। अहिले पनि तरलता सहज नभएकोले निक्षेपको ब्याजदर घट्ने सम्भावना न्युन रहेको बैंकरहरु बताउँछन्। निक्षेपको ब्याजदर बढ्दै जाँदा उनीहरुको लागत बढ्छ र यसले कर्जाको ब्याजदर पनि बढाउँछ।

चैतमशान्तमा बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा बैंकहरुको आधार दर बढ्दो क्रममा देखिन्छ। कर्जाको ब्याजदर सोहि आधार दरबाट तय हुन्छ। दुई बैंकको आधार दर नै दोहोरो अंकमा पुगिसकेको छ। यसले गर्दा पनि अहिलेको अवस्थामा ऋणीले एकल अंकमा ऋण पाउने सम्भावना देखिदैन। अहिले केहि साना व्यवसायीले त १३/१४ प्रतिशतभन्दा बढी ब्याज तिरेर कर्जा लिनुपरेको बताउँछन्।

बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लगानी गर्ने गरेका छन्। तरलता अभावको समयमा बैंकहरुले प्रिमियम दर पनि बढाएका छन जसले गर्दा ऋणीहरु दोहोरो मारमा परेका छन्।

अहिले वाणिज्य बैंकहरुको औषत आधार दर ९.१० प्रतिशत छ। अधिकाँशको ९ प्रतिशतकै हाराहारीमा छ। यसमा बैंकहरुले २ प्रतिशत मात्रै प्रिमियम जोड्दा पनि कर्जाको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुग्छ।

बैंकहरुको कर्जाको ब्याजदरमा एकरुपता नरहेको नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवाल बताउँछन्। अहिले साना व्यवसायीले अझ चर्को ब्याज तिर्नुपरेको उनको भनाइ छ। “बैंककाे ब्याजदरमा कुनै एकरुपता छैन। सबैको कर्जाकाे फरक ब्याजदर छ।” अग्रवालले भने “सानासाना व्यवसायीले त धेरै नै माथिसम्म पनि ब्याज तिर्नुपरेको छ।”

अहिले ब्याजदरमा बैंकहरुले व्यवसायीलाई कसिरहेको उनी बताउँछन्। करिब साढे २ वर्ष अघिसम्म वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजदर १२ प्रतिशतभन्दा माथि पुगेको थियो। कोरोना महामारीपछि घटेको ब्याजदर पुनः सोही विन्दु नजिक पुग्न लागिसकेको छ।

ब्यवसायीहरुले विगत लामो समय देखि कर्जाको ब्याजदर एकल अंकमा रहनुपर्ने माग गर्दै आएका थिए। व्यवसायीको चहाना अनुसार नै कोरोना महामारीको कारण डेढ वर्षअघि २०७७ असोज देखि कर्जाको ब्याजदर एकल विन्दुमा झरेको थियो। तर त्यो ब्याजदर डेढ वर्ष पनि टिक्न सकेन। अहिले ब्याजदर दोहोरो अंकमा पुगिसकेको छ।

२ वर्षअघि कोभिड महामारी सुरु भएपश्चात बैंकहरुमा पैसा थुप्रिन थाल्यो जसले गर्दा उनीहरुले निक्षेपकर्तालाई निरुत्साहित गर्दै निक्षेपको ब्याजदर लगातार घटाउँदै लगे। यसरी निक्षेपको ब्याजदर घट्दै जाँदा उनीहरुको लागत घट्यो भने त्यसले आधार दर समेत घटायो। आधार दर मात्रै होइन बैंकमा पैसा थुप्रिएको कारण उनीहरुले प्रिमियम दर समेत घटाएर आधार दरकै हाराहारीमा कर्जा दिन थालेका थिए। त्यतिबेला ऋणीले ८ प्रतिशतकै हाराहारीमा कर्जा पाउँथे।

तर विस्तारै कर्जाको माग बढ्दै गएपछि बैंकहरुलाई लगानी गर्ने रकम अभाव हुन थाल्यो। उनीहरुले निक्षेपको ब्याजदर बढाउन थाले त्यसको असर कर्जाको ब्याजदरमा पनि देखिन थाल्यो। यसरी छोटो समयमानै बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा उतारचढाव आउनु राम्रो होइन। यसले बैंकबाट कर्जा लिने ऋणीहरुलाई भने निकै समस्या पारेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु