सरकारको कारण व्यवसायीले ग्यास लुकाए

२०७९, १२ बैशाख सोमबार १०:५९

काठमाडौँ: नेपाल आयल निगमका एलपीजी तथा एभिएसन विभाग प्रमुख नेत्र काफ्लेको भनाइ मान्ने हो भने पछिल्लो समय प्रतिदिन औसत १ सय बुलेटको पीडीओ जारी हुन्छ । एउटा बुलेटमा १८ टन ग्यास (एक टनमा ७०.४२ सिलिन्डर) अर्थात् प्रतिदिन १ लाख २६ हजार सिलिन्डर बजारमा पठाइन्छ । सोही हिसाबले बजारमा ग्यास सहजै पाउनुपर्ने हो । तर अहिले सहज ग्यास पाउन मुस्किल छ । ग्यास पाउन सर्वसाधारणले एक साता कुर्नुपर्ने अवस्था आइलागेको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले भारतीय आयल कर्पोरेसन (आईओसी) को पारादिप, हल्दिया, बरौनी र मथुरा रिफाइनरीबाट ग्यास आयात गर्छ । ग्यास आयातका क्रममा सीमा नाकामा कुनै अवरोध छैन । तर पनि बजारमा दुई सातादेखि नै ग्यास अभाव छ । आखिर किन भयो ग्यास अभाव ? मुख्य कारण ग्यासको मूल्य बढाउने सरकारले गरेको हल्ला हो । अर्थमन्त्री जनार्दन शर्माले इन्धनको मूल्य पूर्ण रूपमा स्वचालित लागू गर्न वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका थिए ।
हाल ग्यासको मूल्य प्रतिसिलिन्डर १६ सय रुपैयाँ छ । पूर्ण स्वचालित मूल्य भए प्रतिसिलिन्डर साढे २५ सय रुपैयाँ पर्छ । ‘त्यही हल्लाले डिलरहरूले पनि ग्यास लुकाए,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जर्नले भने, ‘राज्यको विश्वास नभएर उपभोक्ता, डिलर र व्यवसायीले ग्यास लुकाएका छन् । तर सरकार रमिते भई बसेको छ ।’ न मूल्य बढायो न त ग्यास अभाव नियन्त्रण नै गर्न सक्यो । त्यसको असर उपभोक्ताले सास्ती भोग्नुपरेको छ ।

बजारमा ग्यास लुकाएको छिटफुट घटना जानकारीमा आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी धनेश्वर पौडेलको भनाइ छ । ‘सर्वसाधारणले पनि रिजर्भ राखे । डिलरले ग्यास भएर पनि लुकाए । व्यवसायीले लुकाएको पनि हेर्दै छौं,’ उनले भने, ‘लुकाउनेलाई छिट्टै कारबाही हुन्छ ।’

Comments

ताजा खबर