नेवा: परम्परामा स्वन्ति नखः (तिहार)

२०७९, ७ कार्तिक सोमबार ०७:०३

आज नेवाःहरुको विशेष पर्व स्वन्ति (तिहार) नख: को पहिलो दिन लछमी अजिमा (लक्ष्मी)को पूजाबाट शुभारम्भ हुन्छ ।

नेवा:हरुको स्वन्ति (तिहार) विशेष गरेर ब्यापारिक महत्वको पनि हो । नेवा:हरु कौलागा अमाई (कार्तिक कृष्ण औसी) को दिन वर्षको अन्तिम दिन भएको हुँदा आजबाट पुरानो हिसाव किताव बन्द गरेर लछमी अजिमाको पूजा गर्दछन् । भोलिबाट नेवाःहरु नयाँ वर्षको शुभारम्भ गर्दछन् ।

नेवाःहरु शैव धर्मावलम्बी हुन् र चन्द्र वर्षको आधारमा हरेक चाड पर्व मनाउने गर्दछन् । चन्द्र वर्ष मनाउने हुँदा चन्द्रमालाई सम्झेर हरेक चाडपर्वको प्रमुख पूजा साँझ गर्दछन् । वैष्णवमा सौर्य वर्षलाई मान्दै बिहान सूर्योदयमा पूजा गर्दछन् । आजबाट शुरु हुने स्वन्ति नखःको लछमी अजिमाको पूजा, म्हः पूजा तथा किजा पूजा पनि साँझ गर्ने परम्परा छ । स्वन्ति नखः स्वन्हु तिथि या नखः अर्थात तीन दिन लगातार मनाइने चाड भएको हुँदा तीनदिनमा नै पूरा गर्नुपर्दछ । नेवाःहरुको हरेक चाडपर्व तथा उत्सवहरुको चौथो दिन चथा पूजा गरेर समापन गर्ने हुँदा स्वन्ति नखःको चौथो दिन पनि चथा पूजा गरेर समापन गर्नुपर्दछ ।

नेवा:हरुले पूजा गर्ने लछमी अजिमाको हातमा सिन्हमू र ज्वल: न्हायकं बोकेको, सेतो अनुहार भएको ख्याक र कुबेर साथमा भएको हुनुपर्छ । साथै गद्दीआसीन भएकै हुनुपर्छ । तसर्थ सकेसम्म हरेक नेवाःहरुले हातले कोरिएको यस प्रकारको लछमी अजिमाको तस्विरमा नै लछमी पूजा गर्नहुन अनुरोध गर्दछु ।

यस वर्ष पनि नेवा: परम्परा अनुसार मनाइने स्वन्ति नखः अविवादित रहन सकेन । पञ्चांग निर्णायक समितिले तैयार पारेको पात्रोमा नेवाःहरुको प्रमुख पर्व स्वन्ति नखः को ब्याख्या आफ्नै किसिमले गरेको छ । तर नेवाःहरुको प्रतिनिधित्व गर्ने संघ संस्थाहरु पनि कतिपय मौन नै छन् । यी संघ संस्थाहरुले प्राय पर्वको केही दिन अगाडि गर्ने बक्तव्यवाजीले नेवाःहरुलाई विवादीत र विभाजित गर्ने गर्दछन् ।

नेवा: परम्परामा स्वन्ति नखः (तिहार) लगातार तीन दिन सम्म मनाइने पर्व हो । स्वन्ति नाम स्वन्हु तिथिको छोटो रुप हो । तीन दिन लगातार मनाइने यो नेवाः चाडमा बिभिन्न किसिमको विवाद बिगत केही वर्ष देखि हुँदै आइरहेको छ । पहिले पहिले पञ्चांग निर्णायक समितिमा नेवा: प्रतिनिधी पनि हुने हुँदा यस किसिमका समस्या शुरुमै निराकरण हुन्थे र सच्याइएको पात्रो बजारमा निस्कने गर्दथ्यो । तर अहिले नेवाःहरुको प्रतिनिधित्व पञ्चांग निर्णायक समितिमा नहुँदा यस किसिमको समस्या बन्ने गरेको छ । तर पनि यसका निराकरणका लागि नेवाः ज्योतिष तथा जोशीहरुले सच्याउन आग्रह गर्ने गरिरहेको छ । यस वर्ष पनि पञ्चांग निर्णायक समितिबाट पात्रो तैयार हुनासाथ पात्रोमा रहेको नेवाः स्वन्ति नखःको विषयमा सच्याउन पञ्चांग निर्णायक समितिमा निवेदन पेश गरिएको थियो । तर त्यो आग्रहलाई लत्याउँदै नेवाःहरु बिच नै बिभाजन ल्याउने गरि केही नेवाःहरुमा पञ्चांग निर्णायक समिति अनुसार नै मनाउन बाध्य बनाइएको छ ।

ज्योतिषीय खगोलपद्धतीमा यो तीन दिनको बिचमा कुनै तिथि टुट भए तापनि नेवाःहरुले मनाउने स्वन्ति नखःमा सुलं (टुट वा छुट)को गणना गरिदैन । तर यस वर्ष पनि समयमा नै यस विषयमा छलफल र एकिकृत निर्णय गर्न असमर्थ हुँदा नेवाःहरु दुइ किसिमले यो चाड मनाउने स्पष्ट देखिन्छ । केही आफ्ना पुरातन थ्यासासफूका आधारमा नै मनाउने छन् भने केही सरकारी निकायबाट निष्काशित पात्रोका आधारमा नै मनाउने छन् ।

कर्मणो यस्य यः कालस्तत्कालव्यापिनी तिथिः ।
तया कर्माणि कुर्वीत ह्रासवृद्धी न कारणम् ॥

अर्थात् जुन कर्म जतिखेर गर्नुपर्ने हो, त्यो कर्म त्यति बेलाको विशेष तिथिमा नै गर्नुपर्ने हुन्छ । तिथि छुट हुनु वा दुइदिन हुनुले कर्म गर्नुमा कुनै असर गर्दैन ।

नेवाः थ्यासा सफू र धर्मशास्त्र अनुसार धार्मिक एवं सामाजिक कूलपरम्परा अनुकूल तीन दिनको पर्व नटुटाइकन चान्द्र तिथि अनुसार अध्यात्मदर्शन एवं तन्त्रोक्त विधिविधानले लगातार गर्नुपर्ने प्रचलन छ ।

यस वर्षको पात्रो अनुसार वि.सं. २०७९ को स्वन्तिको पहिलो दिन लक्ष्मीपूजा कार्तिक कृष्ण औंसी कार्तिक ७ गते सोमवार लेखिएको छ, जुन सहि छ यसमा कुनै विवाद नै छैन । तर, दोश्रो दिन कार्तिक ८ गते मंगलवारका दिन खग्रास सूर्यग्रहण परेको तथा गाई पूजा लेखिएको छ । जुन दिन वास्तवमा नेवा: हरुले सूर्यास्त तथा ग्रहण समाप्ति पछि कार्तिक शुक्ल प्रतिपदा तिथि प्राप्त सायं कालमा स्नान शुद्धि पश्चात् कुल परम्परानुसार म्हपूजा गरी मनाउनु पर्ने दिन नेवाः परम्परा र संस्कृति विपरित एकदिन टुटाउंदै पर्सिपल्ट तेस्रो दिन कार्तिक ९ गते बुधवार म्हपूजा भनि लेखिएको छ । तेस्रो दिन कार्तिक ९ गते बुधवार अपरान्ह ३:३६ बजेदेखि दाजुभाइलाई दिदीबहिनीले हर्षोल्लासका साथ भाइपूजा गर्नुपर्ने दिनमा पात्रोले भने कार्तिक १० गते बिहीवार भाइटीका भनेर लेखिएको छ । त्यस्तै कार्तिक १० गते नेवाःहरुले चतुर्थी गर्दै स्वांक्वाकायेगु गरेर स्वन्ति नखः समाप्त गर्नुपर्ने दिन हो ।

समग्र नेवाःहरुले एक निर्णय गर्न नसक्नु दुखद हो । यस किसिमका निर्णय समयमा नै गर्नुपर्दछ । अन्तिम समयमा आएर गरिने बक्तव्यवाजीले नेवाःहरु बिच फाटो ल्याउने सम्भावना हुन्छ । अरुले के गर्दछन् त थाहा भएन तर हामी भने कार्तिक ७, ८ र ९ गते नै स्वन्ति नखः मनाउने छौ । संस्कृतिबिद सुनिल उलकको सहयोगमा ।

Comments

ताजा खबर