मुल्यवृद्धिविरुद्ध मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन

२०७९, १० जेष्ठ मंगलवार १२:५२

विराटनगर: इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मुल्यवृद्धिको उपभोक्ता तहबाटै विरोध सुरु भएको छ । विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अगाडि उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा मुल्यवृद्धिविरुद्ध ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरिएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्याधिक मुल्यवृद्धि गरेको भन्दै खाली सिलिण्डर र प्लेकार्ड बोकेर उपभोक्तावादीहरू सडकमा उत्रिएका हुन् । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गर्दा पनि प्रदेश सरकारले हेरेर मात्रै बसेको आरोप लगाउँदै त्यसैको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्नु परेको बताए । उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष आग्रहसमेत गरे ।

संघ सरकारले निणर्य गरेको भएपनि आम उपभोक्ता र नागरिकहरूलाई असर पर्ने गरी गरिएका हरेक निणर्यविरुद्ध प्रदेश सरकारले आवाज उठाउनुपर्ने उपभोक्ताहरूले बताए । मुल्यवृद्धिविरुद्धको उपभोक्ताहरूको प्रदर्शनमा नागरिक समाजका प्रतिनिधि, विवेकशील साझा पार्टीलगायतका दलका प्रतिनिधिहरूले समेत समर्थन जनाएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु