लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्छ : पाण्डेय

२०७९, ६ कार्तिक आईतवार १८:२५

पाल्पा । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेयले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताउनु भएको छ ।

नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहनुभएका नेता पाण्डेयले तानसेन ६ को कुन्सरे, सम्मोचैपारी, भोटेचौपारी, ककरुंगा, बर्तुङलगाएतका स्थानको घरदैलो कार्यक्रममा एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन बनेको बताउँदै उद्देश्य पूरा नहुँदासम्म गठबन्धन रहने बताउनुभएको हो ।

पाण्डेयले संघियता र गणतन्त्रविरुद्धमा लाग्नेलाई परास्त गर्नका लागि गठबन्धन बनेको भन्दै पाण्डेयले संघियताको कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पाँच दलीय गठबन्धन दीर्घकालसम्म रहने बताउनुभयो । नेता पाण्डेयले पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचन लड्न लागेको भए पनि समग्र पाल्पा जिल्लालाई आधार बनाएर आर्थिक समृृद्धिको थालनी पनि पाल्पाबाट नै गर्ने बताउनुभयो । नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएपनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको भन्दै नेता पाण्डेयले अव त्यसको नेतृत्व गठबन्धनले गर्ने बताउनुभयो ।

कार्यक्रममा गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ (१) का उम्मेदवार वीर बहादुर रानाले देशलाई सही मार्गमा डोर्‍याउन पाल्पासहित समग्र देशको विकास गर्नका लागि गठबन्धन नेतृत्वलाई जिताउन आवश्यक भएको बताउनुभयो । रानाले इमान्दार भएर गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

गठबन्धनको जित सुनिश्चित रहेको भन्दै नेता रानाले संविधान मिच्ने, लोकतन्त्रको चीरहरण गर्ने, जनप्रतिनिधि संस्थालाई विघटन गर्नेका विरुद्ध गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

Comments

ताजा खबर