मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा

२०७९, ९ जेष्ठ सोमबार २२:१४

काठमाडौँ: इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका छन् । सोमबार सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।

नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजना निर्माणका लागि कर थोपरेका कारण वास्तविक मूल्यभन्दा बढी तिर्न बाध्य भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै जनताले तिरेको करको वास्तविक अर्थमा सही सदुपयोग नभएको पनि विज्ञप्तिमा उल्लेख छ । नेपाल आयल निगमभित्रको चुहावट, भ्रष्टाचार र कमिसन बन्द गर्नुभन्दा पनि पटक-पटक मूल्यवृद्धि गरिनु जनहीतमा नरहेको विद्यार्थी संगठनको भनाइ छ ।

मूल्यवृद्धिलाई देखाएर बजारमा अन्य दैनिक उपभोग्य वस्तुको समेत कालोबजारी भएकाले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न पनि सरकारसँग विद्यार्थी संगठनले माग गरेका छन् ।

निगमले आइतबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु