काठमाडौं महानगरपालिकामा एमाले ह्याट्रिक गर्ने कसरी !

२०७९, १० बैशाख शनिबार १६:००

काठमाडौं: काठमाडौं महानगरपालिकामा यसपटकको चुनाव पनि जितेर नेकपा एमाले ह्याट्रिक गर्ने योजनामा छ । चुनाव केन्द्रित आन्तरिक छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनुले काठमाडौं महानगरको चुनाव एमालेका निम्ति विशेष प्राथमिकतामा रहेको बुझ्न गाह्रो पर्दैन ।

‘महानगरको उम्मेदवार केन्द्रीय नेतृत्वबाट टुंग्याउने भन्ने पार्टी निर्णय नै हो । पार्टी अध्यक्षले चासो लिनुलाई स्वभाविक मान्नुपर्छ’, काठमाडौं जिल्ला सहइन्चार्ज रहेका एमाले केन्द्रीय सदस्य कृष्ण राई भन्छन् । देशको राजधानी रहेको काठमाडौं महानगरको चुनावलाई अन्य दलले पनि प्रतिष्ठासँग जोडेका छन् । त्यसैले २०५४ र ०७४ को चुनाव जितेको एमालेले महानगरको नेतृत्व नछोड्ने योजना बनाउनु अस्वभाविक होइन ।

तर ‘एमाले ह्याट्रिक सपना’मा तत्कालको समस्या भने आकांक्षी व्यवस्थापन गर्दै उम्मेदवार चयन गर्नु नसक्नु हो । महानगर कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्न नसकेपछि जिल्ला कमिटीमा छलफल भइरहेको छ । ‘अझै केही दिन लाग्न सक्छ । सके त सर्वसम्मत सिफारिस गर्ने भन्ने नै हो, हामी छलफलमा छौं’, एक जिल्ला नेता भन्छन् ।

आगामी ३० वैशाखमा हुने चुनावमा मेयरका उम्मेदवार हुन चाहेकामध्ये विद्यासुन्दर शाक्य र केशव स्थापितको दाबी बलियो रहेको एमाले नेताहरु बताउँछन् । दुवै पछि हट्न चाहेका छैनन् । स्थापित २०५४ र शाक्य २०७४ को चुनावबाट मेयर बनेका हुन् । तर एमाले नेताहरू भने मनोनयन दर्ता हुने बेलासम्म सर्वसम्मत रुपमा उम्मेदवार चयन हुने र यस पटकको निर्वाचन जितेरै छोड्ने दाबी गर्छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु