झापा, प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका क्रस खुकुरी चुनाव चिन्ह पाएका स्वागत नेपालले वास्तविक सांसद कस्तो हुनुपर्छ र हुने छ भन्ने प्रमाणित गरेर देखाउने बताएका छन् । आफ्नो उम्मेदवारी र चुनाव प्रचारप्रसारका बारेमा विर्तामोडमा पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नेपालले विकास निर्माणका काममा सांसदहरुको प्रत्यक्ष र भौतिक सहभागिता नदेखिएकोले वास्तविक सांसद कस्तो हुनुपर्छ भनेर आफूले देखाउने बताएका हुन् ।
‘म जनप्रतिनिधि नभएर पनि एउटा सांसदले भन्दा धेरै प्रतिपक्षी सांसदहरु सरह काम गरेको छु , सरकारले ल्याएका गलत कानुनहरु खारेज गराउँदै जनताको पक्षमा नयाँ कानुन निर्माण गर्न संसद र सरकारका नाममा निर्देशनात्मक आदेशहरु पनि जारी गराउँदै आएको छु’ उनले भने, ‘ त्यसै सिलसिलामा झण्डै १२ वर्षअघि पार्टीहरुले जनतालाई मन नपरेका उम्मेदवारलाई बहिस्कार गर्न पाउने अधिकार राइट टु रिजेक्टको कानुन बनाउन दिएको निर्देशनात्मक आदेश अझै पनि दल र सरकारहरुले अवज्ञा गरिरहेका छन् सो सम्बन्धी कानुन बनाएका छैनन् । त्यसैका कारण अझै पनि इमान्दार कार्यकर्ताहरुले ५ वर्षमा एक पटक आफ्नो मन परेको पार्टीको उम्मेदवारलाई मत हाल्न पाएका छैनन् ,बहिस्कार गर्ने अधिकार पनि पाएका छैनन् । ’
स्वास्थ्य, शिक्षा, आवास निःशुल्क उपलब्ध गराउने असम्भवजस्तो लाग्ने सो व्यवस्थालाई सम्भव गराउने आफूसंग प्रस्ट दृष्टिकोण र कार्यक्रमहरु रहेको भन्दै उनले जसका लागि देशभर स्वतन्त्र उम्मेदवारहरु निर्वाचनमा होमिएको जानकारी दिए । झापा २ मा क्रस खुकुरी चुनाव चिन्ह लिएर आफूले घरदैलो कार्यक्रम गरिरहेको उनले बताए ।
आफ्नो उम्मेदवारी कुनै पनि दल, दलका नेता र समूह विरुद्धमा नभई यहाँको भ्रष्टाचार, अन्याय, अविकास, वेथिती, राज्यकै अराजकता,अन्तर्राष्ट्रिय तत्व र वैदेशिक हस्तक्षेपको विरुद्ध भएको उनको भनाई छ । बिर्तामोड नगरपालिका वडा नं ७ नेपाल गाउँमा जन्मिएका नेपालले स्थानीय देउनियामा प्रारम्भिक शिक्षा हासिल गरेका थिए । वीरेन्द्र मावि चन्द्रगढीमा माध्यमिक शिक्षा र मेची बहुमुखी क्याम्पस हुँदै हाल उनी अध्ययन अध्यापन कार्यमा संलग्न छन् । हालसम्म पत्रकारिता, लेखन, अध्यापन र कानूनकर्ममार्फत देश र जनताका लागि काम गरिरहेको उनले बताए ।