अमेरिकी उपमन्त्री जियाको गृहमन्त्री खाणसँग शिष्टाचार भेट

२०७९, ८ जेष्ठ आईतवार १४:०८

काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्वीपक्षीय सम्बन्धबारे छलफल भएको छ ।
भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा एवम् दुई देशबीचको विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएको गृह मन्त्रलायले जानकारी दिएको छ ।
गृहमन्त्री खाँणले भूकम्प पछिको पुनर्निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइँमा प्राप्त अमेरिकी सहयोगको सराहना गरेका थिए ।

भेटमा गृहमन्त्री खाँणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियालाई बताएका थिए । उनले विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रको योगदानको लागि अमेरिकाले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । उनले मानव अधिकार प्रवर्द्धनमा नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रुपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायको लागि उदाहरण बनेको बताएका थिए ।

त्यस्तै नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगका लागि पनि गृहमन्त्रीले अमेरिकी उपमन्त्रीलाई धन्यवाद दिएका थिए ।

त्यस्तै, सन् १९८९ भन्दा अघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको गृहमन्त्री खाँणले उपमन्त्री जियालाई जानकारी गराएका थिए । त्यसका लागि उपमन्त्री जियाले नेपालको भूमिकाको प्रशंसा गरेकी थिइन् ।

अमेरिकी सहयोग नियोग (एमसीसी) संसद्‍बाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद व्यक्त गरेकी थिइन् । उनले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी गराएकी थिइन् ।

भेटमा नेपालले धार्मिक स्वतन्त्रता तथा मानव अधिकारको क्षेत्रमा पुर्‍याएको योगदान तथा अमेरिकी सरकारको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धताको सरहाना गर्दै आगामी दिनमा यस क्षेत्रमा दुई देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

अमेरिकी उपमन्त्री जियाले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी थिइन् ।

Comments

ताजा खबर