मैले चुनाब जित्न पनि गठबन्धन आवश्यक- पौडेल

२०७८, ८ चैत्र मंगलवार ०६:११

तनहुँ​: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन् ।

तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धन आवश्यक रहेको र त्यसको निर्णय स्थानीयस्तरको आवश्यकताका आधारमा हुने बताए ।

अहिलेको अवस्थामा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको पौडेलको भनाइ थियो ।

`कांग्रेस जम्मा ३० प्रतिशत थियो, ७० प्रतिशत कम्युनिष्ट छन्, कम्युनिष्टसँग लड्नका लागि पनि गठबन्धन आवश्यक छ`, पौडेलले भने, `स्थानीयस्तरको आवश्यकता हेरेर गठबन्धनको निर्णय हुन्छ ।` वरिष्ठ नेता पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)का विषयमा जनताले पनि बुझ्न थालेको तर्क गरे ।

सुरुमा एमसीसीको विरोध गर्ने जनता पनि एमसीसीको बारेमा स्पष्ट भएको पौडेलको भनाइ थियो । `सुरुमा एमसीसी सुन्ने बित्तिकै जनता विरोधमा उत्रिन्थे, एमसीसीको विपक्षमा ठूलो माहोल थियो, अहिले जनताले पनि बुझिसकेका छन्`, पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले आजै भानु नगरपालिका–१२ आहालेमा आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा सुरु भएको विकासको अभियानलाई कांग्रेसले नै पूरा गर्ने बताए ।

उनले कांग्रेसको नेतृत्वमा देशभर विकासका काम सुरु भएको बताउँदै त्यसलाई पूरा गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको बताए ।

नेता पौडेलले व्यास नगरपालिका–९ निवासी स्व सतञ्जीवी पौडेलको १३औँ दिनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पौडेलको निधनले कांग्रेसले इमान्दार कार्यकर्ता गुमाएको बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु