शनिबार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाह गरिदै !

२०७८, १० फाल्गुन मंगलवार १७:१८

बागलुङ: बागलुङ नगरपालिका–३ पाखाथरबाट बिरामी अवस्थामा शनिबार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाहमा राखिएको छ ।

अन्दाजी डेढ वर्षको उक्त चितुवा सिकिस्त भई डिभिजन वन कार्यालयको खोरमा लडिरहेको छ । सहायक वन अधिकृत मदन कँडेलले चितुवाको स्वास्थ्य स्थिति सुरुको तुलनामा सुधार हुँदै गएको बताए । पशु चिकित्सक प्रियङ्का भण्डारीसहितको प्राविधिक टोलीले सोमबार चितुवाको प्राथमिक उपचार गरेका थिए । “उपचारले निको हुन्छ कि आशा छ हेरौँ, हाम्रो प्रयास अन्तिमसम्म बचाउनेमा हुन्छ,” उनले भने ।

शरीरमा कुनै ठूलो चोट नदेखिए पनि चितुवाको घाँटीदेखि माथिको भाग चलेको छैन । जसले गर्दा चितुवाले केही खान सकेको छैन । औषधि पनि सुइबाट दिइएको छ । सोमबारदेखि बल्लतल्ल पानीसम्म खान थालेको जनाइएको छ ।

चितुवाको टाउँकोमा मानिसले कुनै वस्तुले हिर्काएको या कतै खोरमा च्यापिएको हुनसक्ने चिकित्सकको अनुमान छ । बिरामी भई अचेत अवस्थामा बाटोमा भेटिएपछि स्थानीयवासीले उद्धारका लागि कार्यालयलाई खबर गरेका थिए । उपचारले निको भएमा चितुवा आफ्नै बासस्थानमा फर्कनेछ । आहाराको खोजीमा बस्तीतिर छिर्दा चितुवा र मानिसबीच द्वन्द्व बढ्ने गर्छ । घरपालुवा पशुपंक्षीदेखि मानिसमाथि नै चितुवाले हिंस्रक व्यवहार देखाउने गर्छ । त्यसबाट जोगिन मानिसले चितुवालाई पनि निसाना बनाउँछन् ।

त्यसको किसिमको अवस्था आउन नदिन वन्यजन्तु–मानवबीचको द्वन्द्व घटाउने उपायहरुको खोजी गर्नुपर्ने सहायक वन अधिकृत कँडेलले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु