सर्वाेच्चले दिएन अन्तरिम आदेश, र‍विले शपथ ग्रहण गर्न पाउने

२०७९, ६ पुष बुधबार १७:२४

काठमाडाैँ- रवि लामिछानेसहित निर्वाचनसम्बन्धी २१ वटाकाे मुद्दाकाे सुनुवाइ सकिएकाे छ। लामिछानेका दुई मुद्दासहित अन्य १९ वटा मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमा सकिएकाे हाे।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको उम्मेदवार बन्न योग्यता नै नपुगेको भन्दै उनलाई शपथ ग्रहण गर्न रोक लगाउन माग गर्दै दुईवटा रिट निवेदन परेका थिए। लामिछानेविरुद्धको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उक्त रिटमा सुनुवाइ गर्दै अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अदालतले अब दुवै पक्षलाई बोलाएर छलफल गर्नेछ। यससँगै अब लामिछानेले भाेलि (बिहीबार) सांसदको शपथ लिन पाउनेछन्।

युवराज पौडेल (सफल)ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी गर्दै रिट निवेदन हालेका हुन्।

त्यस्तै, अधिवक्ताद्वय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गर्दै रिट हालेका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु