बिर्तामोड, संजय पौड़याल -विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि विद्यालयको अगुवाईमा घर निर्माण गरिने भएको छ ।
हिजो जग्गाजमिन हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेपछि विद्यालयले गुन तिर्न लागेको हो । जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको हो । उजारु राजवंशीको आवास निर्माण गर्नका लागि आइतवार एक समिति गठन गरिएको छ ।
दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठक सयोजक रहेको सो समितिको सदस्यहरुमा सुमन राजवंशी, इन्द्रसिंह राजवंशी , सरोज पौडेल र उमानाथ भण्डारी रहेका छन् । त्यस्तै वडाध्यक्ष हरिप्रसाद चौलागाईको संयोजकत्वमा सल्लाहकार समिति पनि बनाइएको छ। जसको सदस्यहरुमा कृष्ण पाण्डे, सल्पना राजवंशी ,सुरेन राजवंशी , धर्मेन्द्र भट्टराई र पूर्णबहादुर श्रेष्ठ रहेका छन् । दाता परिवारको दुख देखेर आफूहरुको अगुवाईमा सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको प्रधानाध्यापक पाठकले बताए । उनले बुधवार बैंक खाता खोलेर सहयोग संकलन गरिने र केही दिनमै घर निर्माण शुरु गर्ने जानकारी दिए ।
त्यस्तै वडाध्यक्ष चौलागाईले अहिले दुखमा परेको राजवंशी परिवारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सोही कार्यक्रममा राजवंशी परिवारलाई क्रिया खर्चका लागि विद्यालयले रु ११ हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा वडाध्यक्ष चौलागाई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डे , प्रधानाध्यापक पाठक ,राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , विद्यालयका शिक्षकहरु, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो । जग्गादाता उजारुको काजक्रियाका लागि सहयोग
दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिने राजवंशीको काजक्रियाका लागि राजवंशी विकास प्रतिष्ठानले सहयोग उपलब्ध गराएको छ ।
प्रतिष्ठानले शनिवार उजारु राजवंशीको तीन दिनको क्रिया (तीन सिनान ) मा पाँच बोरा चामल र एक बोरा मुरै मृतक परिवारलाई उपलब्ध गराएको हो। विभिन्न दाताहरुबाट संकलन गरी ती खाद्यान्न उपलब्ध गराइएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।
चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमलीबाट दुई बोरा, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीबाट एक बोरा , शिखर बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष तारा खतिवडाबाट एक बोरा चामल तथा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीबाट एक बोरा चामल र एक बोरा मुरै सहयोग प्राप्त भएको सचिव राजवंशीले जानकारी दिए । तीनसिनानका दिन प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी र सचिव इन्द्रसिंह राजवंशीले सो सहयोग हस्तान्तरण गरेका थिए ।दाता उजारुको काजक्रिया गर्न समस्या रहेको छ । गाउँलेले जुटाएर उनको अन्त्येष्टि गरेका थिए । काजक्रिया पनि सहयोग जुटाएर गरिरहेका छन् ।
दुर्गा माविलाई एक विगाह जग्गा दान दिने बिर्तामोड ९ निवासी दानवीर राजवंशी र उनको परिवारमा यस्तो हविगत भएको हो । राजवंशीको गत बुधवार ७५ वर्षको उमेरमा निधन भएको हो । उनी विगत ६ महिनादेखि प्यारालाइसिस रोगले थलिएका थिए । श्रीमती चम्पा राजवंशीसंग भत्किन लागेको कटेरोमा राजवंशी बस्दै आएका थिए । बृद्ध भत्ताबाटै ती दुवैले गुजारा गरेका थिए ।उनीहरुका तीन छोरा मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । मृत्यु हुँदा रकम संकलन गरेर अन्त्येष्टि गरेको छिमेकी मुक्ति श्रेष्ठले बताइन् । ‘उनीहरु बस्ने कटेरोमा बर्खाको पानी चुहिन्थ्यो ’उनले भनिन् ‘ पानीबाट जोगाउन प्लाष्टिकले घर छोपिदियौं ।’
गरामनीबाट लखीबारीतर्फ जाने शहीद नेत्र मार्गले छोएको करोडौंको जग्गा राजवंशीले दान दिएका थिए ।