नेपालगन्ज: बाँके जिल्ला अदालतमा कार्यरत न्यायाधीश श्यामसुन्दर अधिकारीलाई न्याय परिषद्ले सर्वोच्च अदालतमा तानेको छ । उनीमाथि उजुरी परेपछि छानबिनका क्रममा सर्वोच्च तानिएको परिषद्ले जनाएको छ ।
मुद्दाको न्याय सम्पादन गर्न बैंकमै रकम जम्मा गराउन थालेपछि उनी जिल्ला अदालत सप्तरीमा रहँदै विवादित थिए । राजविराजका फलफूल व्यापारी सागरकुमार साहले अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेका थिए । यसका अतिरिक्त साहले आदेश र फैसला प्रभावित पार्न अधिकारीलाई नगदै दिने गरेको खुलेको थियो । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न रकम लिएको भन्दै परिषद्मा उजुरी दिएका थिए ।
पत्नी सुनीताकुमारीलाई सप्तकोसी–२ बस्ने मो अली हुसेनले भगाई विवाह गरेपछि साहले बहुविवाहको मुद्दा चलाएका थिए । हुसेन पक्राउ परी सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भए भने सुनीताकुमारी १८ हजार धरौटीमा रिहा भएकी थिइन् ।
उक्त मुद्दामा साक्षी बकपत्रसमेत भई ०७४ सालमा सुनीताले पति मनोजविरुद्ध मानाचामल मुद्दा हालिन् । बहुविवाहको मिसिलसमेत सामेल गरी नियमअनुसार पेस गर्नु भनी जिल्ला अदालतबाट आदेश भयो । दुवै मुद्दाको एकसाथ ०७५ असार २५ गते पेसी तोकिएकामा सुनीता, उनका भाइ विजयकुमार र हुसेनका छोरा मिली सागरकुमारमार्फत न्यायाधीश अधिकारीलाई पैसा दिएर बहुविवाह मुद्दामा सफाइ पाउने गरी फैसला गरेको आरोप मनोजकुमारले उजुरीमा लगाएका थिए । फलफूल व्यापारी सागरकुमारले न्यायाधीश अधिकारीको माछापुच्छ्रे बैंकमा रहेको खातामा विभिन्न मितिमा पाँच लाख रुपैयाँ पठाएको भौचर कान्तिपुरसँग सुरक्षित छ ।
०७४ असोज ३० गते मनाङ जिल्ला अदालतबाट सरुवा भएर सप्तरी आएका न्यायाधीश अधिकारी ०७५ साउन २ गते जिल्ला अदालत कालीकोट सरुवा भएका थिए । सप्तरीमा रहँदा सामूहिक बलात्कारको एउटा मुद्दाको आदेशमा पनि उनी आलोचित भएका थिए ।