एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको-ओली

२०७९, ८ बैशाख बिहीबार १५:४४

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई भनेका छन् ।
प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उनले त्यसको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई भनेका हुन् ।
केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भनेका हुन् । ‘केही केही साथीहरूले यस्सो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ,’ उनले भने, ‘यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौं ।’

अब एमाले पार्टी एकस्वरमा अगाडि बढ्नुपर्ने भन्दै विरोधका आवाज र पार्टीले विगतमा गरेका निर्णयविरुद्ध नबोल्न ओलीले नेताहरूलाई भनेका हुन् । एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको उनको दाबी थियो । ‘स्पष्टताका साथ, बिनाद्विविधा एकस्वरले अगाडि बढ्नुपर्छ । समान कदमका साथ, एक ताल, एक सुर, एक लयमा अगाडि बढ्नुपर्छ,’ उनले थपे, ‘आज प्रमुख शक्तिको हैसियत हामीले कायम रहेका छौं । देशमा एमालेको लहर सिर्जना गरेका छौं । होइन भने एमाले गन्तव्यहीन, दिशाहिन खत्तम भएर, ध्वस्त भएर, प्रचण्ड-माधवहरूको कब्जामा जान्थ्यो ।’
प्रतिनिधिसभा विघटन गरी ठीक निर्णय नलिएको भए एमाले पुष्पकमल दाहाल र माधवकुमार नेपालको व्यक्तिगत र पारिवारिक इच्छापूर्तिमा लागेर समाप्त हुने थियो भन्ने ओलीको भनाइ थियो । ‘त्यसो भएर हामी ठीक निर्णयका साथ ठीक समयमा ठीक ढंगले अगाडि बढेका छौं,’ उनले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु