काठमाडौँ: २०२२को मार्च १८सम्म अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले ४ हजार ९४० वटा एक्जो–प्लानेट्स पत्ता लगाएको छ । सौर्यमण्डलभन्दा बाहिरका ग्रह एक्जो–प्लानेट्स हुन् । यी बाह्य ग्रहहरुमध्ये नासाको केप्लर मिसनमार्फत १२ सय ८४ सय वटा ग्रह पत्ता लागेका छन् ।
अन्तरिक्षमा ग्रह तथा आकाशीय पिण्डको अध्ययन अनुसन्धान गर्नका लागि भनेर सन् २००९ मा सुरु भएको केप्लर मिसन २०१८मा सकिएको थियो । सन् २०१६ मा केप्लर मिसनमार्फत ग्रह पत्ता लगाउने नयाँ वैज्ञानिक विधिको विकास भएको थियो । त्यही विधिमार्फत १२ सय ८४ वटा ग्रह पुष्टि भएका थिए ।
नासाले ग्रह भनेर पुष्टि गरेका यी ग्रहहरुमध्ये ३ वटा ‘ग्रह’नै नभएको एक जना नेपाली अनुसन्धानकर्ताले पुष्टि गरिदिएका छन् । यस्तै, नासाले नै ग्रह भनेको अर्को एउटा पिण्डमाथि पनि उनले प्रश्न उठाएका छन् ।
तारा नजिकै रहेका ग्रहलाई ताराको गुरुत्वाकर्षण बलले कसरी असर गर्छ भनेर प्रज्वल निरौलाले अनुसन्धान गरेका थिए । अमेरिकाकको म्यासुच्युएट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा खगोल विज्ञानमा विद्यावारिधी गरिरहेका निरौलाले केप्लर टेलिस्कोपले ग्रह पुष्टिका गरेका ३ वटा आकशीय पिण्ड वास्तवमा ‘ग्रह’ नभएर ‘तारा’ भएको पुष्टि गरेका हुन् ।
निरौलाले गरेको यो अनुसन्धान सम्बन्धीको विस्तृत अध्ययन मार्च १५मा एस्ट्रोनोमिकल जर्नलमा प्रकासित छ ।
युरोपेली स्पेस एजेन्सीको अन्तरिक्ष पर्यवक्षेक टेलिस्कोप ‘गाया’मार्फत केप्लरको तथ्यांक उनी र उनका प्रोफेसर जुलियन डी विट र अन्य दुई जना मिलेर अनुसन्धान गरेका थिए । तथ्यांक विश्लेषण गर्दा तीनवटा ग्रहहरु ‘तारा’ भएको पुष्टि भएको हो ।
एमआईटीबाट कान्तिपुरसँगको टेलिफोन कुराकानीमा अनुसन्धानकर्ता निरौलाले भने, ‘जुन विधि मार्फत केप्लर टेलिस्कोपले १२ सय ८४ वटा आकशाीय पिण्ड पत्ता लगाएको थियो, त्यही विधि मार्फत तथ्यांक संकलन र विश्लेषण गरिएको थियो । उक्त विधि सही हुनका लागि ताराको आकार पनि सही हुनुपर्थ्यो तर त्यो देखिएन ।’
ताराको वरिपरी घुम्ने बाह्य ग्रहहरुको गुरुत्वाकर्षण ताराभन्दा १० गुणा सानो हुुने प्रज्वलले बताए । केप्लर–८५४बी को गरुत्वाकर्षण धेरै नै थियो । अनुसन्धानकर्ताहरुले यसको गुरुत्वाकर्षण ग्रह आकारको आकाशीय पिण्डमा हुने भन्दा धेरै नै पाएका थिए ।
ग्रह पुष्टि नभएका यी ग्रहहरुको आकार बृहस्पतिकोभन्दा २.५ गुणा ठूला थियो । यत्रो ठूलो आकार अहिलेसम्म पत्ता लागेका ग्रहहरुभन्दा नै ठूलो थियो । थप पुष्टि गर्न गुरुत्वाकर्षणको असर हेरियो । ‘तारालाई ग्रहले असर गर्ने हो तर यहाँ ग्रह भनिएको आकाशीय पिण्ड नै तारा भइदियो,’ निरौलाले भने,‘ त्यो वस्तुको गुरुत्वाकर्षण बल धेरै नै भयो । ग्रहबाट भन्दा ताराबाट उत्पन्न हुने खालको गुरुत्वाकर्षण बढी थियो ।’
केप्लर–८५४ बीको गुरुत्वाकर्षण बल बृहस्पतिको भन्दा सय गुणाले बढी रहेको पाइएको थियो । ८४०–बीबाट आफैं प्रकाश उत्पन्न गरिरहेको पाइएको थियो । ताराहरुले मात्रै आफ्नो प्रकाश आफैं उत्पादन गर्छन् भने ग्रहहरुले कहिल्यै प्रकाश उत्पादन गर्दैनन् । ८५४ बी र ८४० बी नजिकै छन् । यी हरेक तीन दिनमा आफ्नो मुख्य ताराको वरिपरि घुम्ने निराैलाले बताए । ८५४ फोटोमेट्रिक मोडुलसेन विधि प्रयोग गरिएको थियो भने अन्य पिण्डहरुमा ट्रान्जिट विधि थियो । फोटोमेट्रिक विधिमा हरेक तीनमा ग्रहले प्राप्त गर्ने प्रकाश र गुरुत्वाकर्षणको आधारमा अध्ययन गरिन्छ भने ट्रान्जिट विधिमा तारामा ग्रहको छायालाई आधार मानिन्छ ।
अर्को पिण्ड ६९९–बी पत्ता लगाएको ग्रहहरुको भन्दा धेरै नै टाढा अवस्थित छ । यसको गुरुत्वाकर्षण अध्ययन गर्न अनुसन्धानकर्ताहरुले सकेनन् । यो पिण्डले हरेक ३० दिनमा एक फन्को लगाउने गरेको पाइएको थियो । ३०/३० दिनमा एक चक्कर लगाउने कुराको अनुमान गर्न आफूहरुलाई शंका लागेको उनले बताए ।
तारा नजिक भएका ग्रहहरु ठूला हुन्छन् । दुई वटा बृहस्पति आकारका ग्रहहरु तारा नजिक नै हुन्छन् । ‘ग्रह भनिएको ६९९–बी धेरै ठूलो पनि भयो अनि ३० दिनमा घुम्ने भएकाले यो ग्रह हुने सम्भव नै छैन’ निरौलाले भने ।
निरौलाले यी ताराको अवस्थिती सौर्यमण्डलभन्दा ३ हजार प्रकाश वर्षभन्दा टाढा छन् । एक प्रकाश वर्ष दूरी भनेको एक वर्षमा प्रकाशले पार गर्ने दूरी हो अर्थात ९५ हजार अर्ब किलोमिटर हो।
निरौलाको समूहले केप्लर ग्रह भनेको ७४७–बी माथि समेत प्रश्न तेर्साएको छ । यसका नजिक फाट्टफुट्ट अन्य ग्रहहरु धेरै छैनन् । यसले प्राप्त गर्ने विकिरणको मात्रा कम छ र यो बृहस्पतिभन्दा १.८ गुणाले ठूलो छ । ‘यत्रो आकारको ग्रह सम्भव छ तर यसले प्राप्त गर्ने विकिरणको आधारमा चाही ग्रह हुन सक्दैन,’ निरौलाको अनुसन्धानमा भनिएको छ ।
प्राय: ग्रह पत्ता लगाउने क्रममा छायाँको आकारलाई आधार मानिन्छ । ग्रहले तारालाई परिक्रमा गर्दा छाया तारामा देखिन्छ । अनि ताराको तुलनामा ग्रहको आकार कत्रो छ भन्ने थाहा पाइन्छ । ताराबाट आउने प्रकाश हरेक ३–३ दिनमा एक प्रतिशतले घट्यो(मधुरो) भयो भने ताराको तुलानामा त्यो आकशीय पिण्डको आकार १० गुणाले सानो हुने निरौला बताउँछन् ।
खगोलशास्त्रीहरुलाई ताराको आकार पहिल्यै नै थाहा नहुन सक्छ । कुनै तारा ठूलो छ भने वरीपरी घुम्ने वस्तु तारा पनि हुन सक्ने सम्भावना हुन्छ । सानो आकारको तारा छ भने त्यसलाई परिक्रमा गर्ने वस्तु ग्रह हुन सक्ने अनुमान अनुसन्धानकर्ताहरु गर्छन् । निरौलाले नासाले पत्ता लगाएका उक्त ग्रहबारे गरेको अनुसन्धान नतिजा नासाले आर्काइभमा राख्ने छ ।