झापा,। ‘दमकमा एमालेविरुद्ध गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्रै हो,’ स्थानीय तह निर्वाचनको मतदान हुनुभन्दा तीन दिनअघि झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा अध्यक्ष केपी ओलीले भनेका थिए । सबै दल मिलेर घेराबन्दीमा पार्न खोजे पनि एमालेलाई कुनै आपत्ति नहुने उनको भनाइ थियो ।
तर शुक्रबार सम्पन्न दमक नगरपालिकाको मतगणनाको नतिजा एमालेका पक्षमा छैन । दमक नगरपालिकाको नगर प्रमुख राप्रपाले जितेको छ।नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार रामकुमार थापा मेयरमा निर्वाचित भएका हुन् । थापाले १७५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६९६६ मत प्राप्त गरेकी छिन्।
उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७०५२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिष्पर्धी एमालेका अम्विकाप्रसाद खनालले १६५७४ मत प्राप्त गरेका छन्।
एमाले उम्मेदवार अधिकारीलाई पराजित गर्दै दमक नगर प्रमुख बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदानमा थिए। एमाले एक्लै प्रतिस्पर्धामा थियो।