जसरी हाँसेर आएको छु, जाँदा योभन्दा बढी हाँसेर जान्छु: मन्त्री चौधरी

२०७९, ३ श्रावण मंगलवार १९:५३

सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन्।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढी हाँसेर जाने बताएका हुन्।

बैठकमा सांसदहरूले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाक्रीले मन्त्रालयबाट बिदाई हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए। त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए।

मन्त्री चौधरीले मन्त्रीको रूपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले भने,‘माननीयजीहरूले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझाव दिनु भएको छ। आउँदा खुसी भएर आउने, जाने बेला रूने कुरा पनि भन्नु भएको छ। मलाई क्लियर के छ भने मन्त्री हुने कुरा रेगुलर प्रोसेसको कुरा हो। म सधैंभरि रहि रहदिनँ। त्यसै म आउँदाखेरी जसरी हाँसेर आएको छु। जाँदाखेरी योभन्दा बढी हाँसेर जान्छु।’

त्यस अवसरमा मन्त्री चौधरीले सरकारले एक हप्ताभित्र ‘सहरी विकाससम्बन्धी नीति’ सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उनको भनाइ थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु