अस्पताल पुर्‍याउन नसक्दा उपचार अभावमा घरमै थला

२०७९, ५ असार आईतवार १२:११

रोल्पा: माडी–२ घर्तीगाउँकी १७ वर्षीया लालसरी घर्ती उपचार नपाउँदा ८ वर्षदेखि घरमै थला परेकी छन् । सुरुमा खुट्टा सुन्निएको थियो । बिस्तारै समस्या बल्झिए पनि अस्पताल पुर्‍याउन नसक्दा उपचार हुन सकेको छैन ।
लामो समय थलिएकाले मेरुदण्डसमेत चल्दैन । उनको रेखदेख र उपचारमा खटिंदै आएकी आमा भीमकुमारीको चार वर्षअघि मृत्यु भएपछि झन् समस्या भएको हो । उनका बाबु अपांगता भएका छन् । उनले उपचारमा सघाउन सक्दैनन् । पर्याप्त अन्न उत्पादन हुने जग्गा/जमिन नभएकाले बाबु कुशलसिंहले घर्तीगाउँ बजारमा ज्यालादारी काम खोज्दै परिवारको भरथेग गर्दै आएका छन् ।
कुशलसिंहका ५ छोरीमध्ये लालसरी साइली हुन् । दाहिने खुट्टामा खटिरो देखिएपछि ८ वर्षअघि आमाको साथमा दाङ र काठमाडौंमा पुर्‍याइएकी लालसरीको उपचार बीचैमा रोकियो, जब उनकी आमाको मृत्यु भयो । छोरीको उपचार गर्दागर्दै लालसरीकी आमा भीमकुमारीको मृत्यु भएपछि उनकी बहिनी बिरसनाले सघाउँछिन् । घरमा अपांगता भएका बुबाका अतिरिक्त वृद्ध हजुरआमा र दुई साना बहिनी छन् । ठूला दुई दिदीको बिहे भइसकेको छ । साना बहिनीहरू १४ वर्षकी काइली विपना र ९ वर्षकी कान्छी टीकाले लालसरीको हेरचाह गर्नमै समय दिएकाले राम्रोसँग पढ्न पाएका छैनन् । आर्थिक अभावले दुई दिदीले पनि पढ्न पाएनन् । घरबाट समय निकालेर उनीहरू पनि लालसरी र अरुलाई सघाउन माइती आइरहन्छन् ।

आर्थिक अभावले उनलाई सुविधायुक्त अस्पतालमा उपचारका लागि पुर्‍याउन सकिएको छैन । काकी बिरसनाले लालसरीलाई जुन जुन अस्पतालमा पुर्‍याइन्, आर्थिक अभावले त्यहाँबाट चिकित्सकलाई नभेटी फिर्ता ल्याइयो । लामो समय बसालेर अस्पतालमा उपचार गराउन नसकेको बिरसनाको दुखेसो छ । ‘उपचार गराउँदा गराउँदै दिदीको मृत्यु भयो,’ उनले भनिन्, ‘मैले सहयोग गर्दै आएकी छु । तैपनि, उपचार गर्न सकेनौं ।’ लालसरीको उपचार खर्च जुटाउने क्रममा ७ लाख रुपैयाँमा खेत बेच्नु परेको बुबा कुशलसिंहले बताए । ‘ऋण खोजेर उपचार गर्नु पर्‍यो । अझै ऋण छ,’ उनले भने । भत्केको घरको पुनःनिर्माण पनि बिरसनाले नै गरिदिएकी हुन् । ‘सुरुमा एउटा खुट्टामा खटिरोजस्तो सानो घाउ देखिएको थियो । दाङ र काठमाडौंमा पुर्‍याएर उपचार गराउने प्रयास गर्‍यौं तर केही सीप लागेन,’ हजुरआमा नौला घर्तीमगरले भनिन् ।
समयमै उपचार नपाएपछि लालसरीको मेरुदण्डमा समस्या देखिएको छ । दुवै खुट्टा सुन्निएर चलाउन सक्ने अवस्था छैन । खुट्टाबाट पिप चुहिन्छ । उनी लत्रिएरै ठाउँ सर्ने प्रयास गर्छिन् । तैपनि, उनलाई साथ दिने ८० वर्षकी हजुरआमा नौला र दुई बहिनीहरू मात्रै छन् । बिरसना भन्छिन्, ‘अघिल्लो महिना रोल्पा अस्पतालमा पुर्‍याएर उपचार गराएँ । तैपनि, रोग पत्ता लागेन ।’ त्यहाँ लालसरीलाई दुई पोका रगत चढाइएको उनी बताउँछिन् । लालसरीले बसेको ठाउँमै दिसापिसाब गर्छिन् । सानोमा पढाइमा तीक्ष्ण उनी हाल राम्ररी बोल्न पनि सक्दिनन् । उमेर अनुसार उनको जीउ पनि सानो लाग्छ । आमा छँदै उनलाई दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा पुर्‍याइयो । खेत

बिक्री गरेर काठमाडौंस्थित कान्ति बाल अस्पताल र शिक्षण अस्पतालमा पुर्‍याइयो । ‘डाक्टरले के रोग लागेको हो भनेर पत्ता लगाउन सकेनन्, औषधि मात्रै लेखेर दिए र फेरि पछि आउनु भने ।’ स्यानी आमा बिरसनाले स्मरण गरिन् ।

पछिल्लो पटक थोरै खर्च जुटाएर उनकै पहलमा लालसरीलाई काभ्रेस्थित शिर मेमोरियल अस्पतालमा पुर्‍याइयो । त्यहाँ पनि लामो समय बसाल्न सकिएन । आर्थिक सहयोग जुटाउन पाए उनलाई त्यहीं पुर्‍याउने बिरसनाको इच्छा छ । उनले आफ्नी दिदीको इच्छा लालसरीलाई सन्चो बनाउने भएको र बीचैमा मृत्यु भएकाले आफैंले उक्त काम पूरा गर्ने बताइन् ।

घर्तीगाउँका यातायात व्यवसायी भीमसेन घर्तीमगरले सहयोग संकलन अभियान चलाएका छन् । ‘लालसरीको उपचारमा सहयोग जुटाउन सुरु गरेदेखि अहिलेसम्म लगभग १ लाख ५० हजार रकम जुटेको छ । अब केही रकम संकलन गरेपछि उनलाई राजधानीका अस्पतालमा पुर्‍याउने योजना छ,’ उनले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु