बाराको फेटा गाउँपालिका अध्यक्ष / उपाध्यक्ष दुवै विवेकशील साझा विजयी

२०७९, ५ जेष्ठ बिहीबार २०:०३

वीरगञ्ज – विवेकशील साझा पार्टी बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भएको छ।

गाउँपालिकाको अध्यक्षमा विवेकशील साझाका उम्मेदवार रुस्तम अन्सारी विजयी भएका हुन्। उनी ४ हजार ४८५ मत ल्याएर विजयी भए।उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरी लाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे।

लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जय चौहानले १ हजार ९८६ मत ल्याएर तेस्रो स्थानमा चित बुझाए।

गाउँपालिकाको उपाध्यक्षमा पनि विवेकशील साझा पार्टीकी निलम साह विजयी भएकी छन्। उनी ३ हजार ५७० मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन्।

उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमरुन खातुनले २ हजार ३३३ मत प्राप्त गरिन्।

लोसपाकी बेनजिरा खातुनले १ हजार ७९५ मतका साथ तेस्रो स्थान प्राप्त गरिन्।

कुल सात वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर ३ र ६ मा विवेकशील साझा पार्टीले वडाध्यक्ष पनि जितेको छ।

वडा नम्बर १ र ५ मा जनता समाजवादी पार्टीले वडाध्यक्षमा बाजी मारेको छ। वडा नम्बर २ मा एमाले र ७ मा लोसपाका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।

नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षको टिकट दिए पनि अन्सारीले त्यसलाई फिर्ता गरेका थिए। उनले गाउँपालिकाको वडाध्यक्षमा टिकट दिने कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका अध्यक्षको टिकट फिर्ता गरेका थिए। पछि उनी विवेकशील साझा पार्टीमा प्रवेश गरी अध्यक्षमा चुनाव लडेका थिए।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु