श्रीलंकाबाट के सिक्न सकिन्छ, आफूले भ्रष्टाचार गरेर अरूलाई भ्रष्टाचारी भन्ने संस्कृतिलाई संस्थागत गरे

केही साताअघि एउटा भोजमा सिंगल माल्ट ह्वीस्कीको चुस्की लिँदै एक साथीले मलाई आर्थिक संकटका विषयमा सोधे । मैले भनें, ‘नेपालमा साँच्चै आर्थिक संकट भएको भए तिमी यो महँगो ह्वीस्की खानुको सट्टा जिम्वाबे र भेनेजुएलामा झैं चामल वा पेट्रोलको लाइनमा हुन्थ्यौ ।’
नेपालमा ‘नराम्रो खबर’ लाई मानिसहरूले मन पराउने गर्छन् र त्यसैमा व्यवसाय पनि फस्टाउने गर्छ । एकताका नेपाल ‘खत्तम भयो’ यानि ‘फेल्ड स्टेट’ हुन लाग्यो भनेर यसका अभियन्ता जन्मे र यही त्रास बेचेर उनीहरूले घरघडेरी जोडे अनि छोरा–छोरी विदेश पठाए । पहिले कृष्णभीरमा पहिरो जाँदा पसलमा पहिलेदेखि थुप्रेका तरकारीहरूको भाउ पनि एकाएक बढ्ने गर्थ्यो, यो पटक पनि संकटको हल्लाले गोदाममा भएका सामानहरूको भाउ एकाएक बढ्यो । अब फाइदा हुने संकटको धेरै कुरा किन नगर्ने त ?

किन नेपाल श्रीलंकाजस्तो होइन ?

श्रीलंकामा संकट विदेशी ऋण तिर्न नसकेर उत्पन्न भएको हो । आफ्नो विदेशी मुद्राको सञ्चिति (फरेन एक्सचेन्ज रिजर्भ) ले ऋणको अर्को किस्ता बुझाउन सक्ने अवस्था छैन । श्रीलंकाले चीन, जापान, युरोपसहित धेरैतिरबाट धेरै ऋण लिएको छ । त्यो पनि धेरैजसो ब्याज बढी भएको ऋण । नेपालको अवस्था त्यस्तो छैन । हाम्रो अहिलेको रिजर्भ तीन वर्षको साँवाब्याज धान्ने अवस्थामा छ । हाम्रा ऋणहरू पनि धेरै कम ब्याजवाला हुन् । यसै गरी, नेपालमा संकटको डम्फु बजाउनेहरूले हामीसित साढे छ महिनाको आयातको रिजर्भ मात्र छ भन्ने गर्छन् । नेपालस्थित विश्व बैंकका अर्थशास्त्री एलिस ब्रुक्सले यो कुनै चिन्ताजनक स्थिति होइन भनेर भने र लेखे, साढे पाँच महिनाको हाराहारीमा रहेर घटेर जाने रिजर्भको चिन्ता गर्नुपर्छ । अब यो कुरामा कसको चासो ? मिडियामा पनि त यस्तो सकारात्मक खबरले न बिक्री बढाउने गर्छ न भ्यु ? नेपालीहरूको बानी पनि गज्जबकै छ । हामी आफ्नो देशको तुलना होस् वा निजी जीवनको, नराम्रो गरिरहेकोसितै गर्न रुचाउँछौं ।

भारतीय सञ्चारमाध्यमको चीनविरोधी प्रचार–प्रसारमा फस्यो नेपाल

नेपालको श्रीलंकासितको यस्तो तुलना धेरैजसो भारतका सञ्चारमाध्यमहरूले गरेका हुन् । र तिनै समाचार संसारका सञ्चारमाध्यमले फैलाएका छन् । चीनलाई होच्याउने र सोसँग नेपाललाई जोड्ने कुनै कुरा भेटे भारतीय सञ्चारमाध्यमहरू चुक्दैनन् । विडम्बना के हो भने, श्रीलंकाको ऋण समस्यामा चीनको ऋण त दस प्रतिशत मात्र छ । जापान र युरोपेली बोन्डहरू त्योभन्दा धेरै छन् । तर भारतीय सञ्चारमाध्यमहरूले यो समस्या फुक्न छाडेनन् । भारतका प्रमुख सञ्चारमाध्यमहरूले त फुक्न थाले भने युट्युबे र ह्वाट्सएप विश्वविद्यालयको झन् के कुरा ? अब नेपालमा नराम्रो समाचार सेयर गर्न पुरस्कार किन चाहियो र, जान्नु न बुझ्नु फेसबुकको भित्ता यस्तै गलत समाचारहरूले भर्न थालियो र विभिन्न माध्यमद्वारा झुटो खबर फैलिन थाल्यो । हिन्दीमा आउने समाचारलाई पढ्न र फैलाउन पनि सजिलो । विश्व बैंक, आईएमएफ र अन्य संस्थाका रिपोर्टहरू कसले पढिरहोस् !

महँगो पार्टीका लागि पैसा छ, रिसर्चका निम्ति छैन

नेपालमा रिसर्च र विश्लेषणको कमी छ । स्वर्णिम वाग्ले, चन्दन सापकोटा, समीर खतिवडाबाहेक गहन रिसर्च गरेर विश्लेषण गर्नेहरू त्यति छैनन् । पत्रपत्रिका हेर्ने हो भने नाममा ‘भूतपूर्व’ झुन्डिएकासितका अन्तर्वार्ताहरू । लाग्छ, नेपालमा नाममा ‘भूतपूर्व’ झुन्डिएको छैन भने केही पनि नजानेको कोटिमा परिन्छ । धेरैजसो देशमा निजी क्षेत्रका, विशेष गरी बैंक र वित्तीय संस्थाहरूमा राम्रो रिसर्च विभाग हुने गर्छ । तर नेपालमा खर्बौंको भ्यालु भएका बैंकहरूमा पनि त्यो क्यापासिटी छैन । भोजभतेर गर्न करोडौं खर्च गर्न सक्ने बैंक र वित्तीय संस्थाहरूले एउटा ढंगको रिसर्च डिपार्टमेन्ट किन राख्न नसकेका वा यस्तो काम गरिरहेको संस्थालाई किन सहयोग नगरेका होलान् ? वासलात नै पढ्न नजान्नेहरूको बिगबिगी रहेका बैंकहरूका अहिलेका बोर्डहरूले रिसर्चको महत्त्व के बुझ्न सक्थे भन्ने गरिएको पनि सुनिन्छ ।

सिन्डिकेटहरूलाई किन भयावह स्थिति फाइदाजनक छ ?

नेपालमा व्यवसाय भनेकै समयको फाइदा लिएर पैसा कमाउनु हो । यो काम संकटको आडमा त हुने भयो नै । हामीले हाम्रो एउटा अन्तर्राष्ट्रिय क्लाइन्टका निम्ति, सरकारले ठूलो हल्ला गरेर आयात बन्द गरिदिनाले कसलाई फाइदा भएको छ भन्ने विश्लेषण गरेर रिपोर्ट गर्‍यौं । जस्तै, आयात बन्दको त्यो सूचीमा ‘लेज’ चिप्स र ‘कुरकुरे’ भनेरै तोकिएको छ । यसो गर्नाले नेपालमा नक्कली रूपमा उत्पादन गरिएका, ‘कुरकुरे’ र ‘लेज’ को जस्तो प्याकिङ गरिएका चिप्स बेच्न सजिलो भएको छ । ठूलठूला व्यापारीको संलग्नतामा यस्तो सूची तयार हुन्छ । हुन पनि चुनावी माहोल छ । चन्दा सित्तैंमा त लिन भएन । हामीले यस्तै प्रकारले प्रत्येक जिनिसको विश्लेषण गरेका छौं । अब निर्माण व्यवसायी महासंघले पनि निर्माण रोक्ने घोषणा गरी नै सकेको छ र यसको पछि पनि कुनै रहस्य छ । यो सबमा विभिन्न संघसंस्थाको सिन्डिकेटे प्रवृत्ति छर्लंग हुने गर्छ । अब निजी क्षेत्रका संघसंस्थाको कुनै पदमा उठ्न खर्च गर्ने पैसा त उठाउनैपर्‍यो र त्यो आफ्नो सरोकारको राजनीतिकर्मीलाई पनि बाँड्नैपर्‍यो । अनि यो संकटलाई ठूलो रूपमा प्रस्तुत नगरी पैसा कसरी बनाउने त !

पैसा बैंकमा मात्र छैन

अस्ति भर्खरकै कुरा, एक मित्र एउटा बैंकमा बीस करोडको ऋणको कुरा गर्न गएका थिए । उनलाई त्यहाँका म्यानेजरले भनेछन्, ‘हेर्नोस्, बैंकमा त पैसा छैन; ब्याज अलिक बढी तिर्ने हो भने मेरो साढुभाइको एउटा सहकारी छ ।’ उनले बुझ्दा, चौबीस प्रतिशत ब्याज दिने हो भने, दुई घण्टामै बीस करोड तयार हुने रहेछ । कालीमाटी, न्युरोडमा दिनहुँ जम्मा गरिने पसलेहरूको बचतमा कमी आएको छैन, तर सहकारीमा ब्याज बढी छ । अनि किन बैंकमा आउनु ? नेपालबाहिरबाट आउने पैसामध्ये दस खर्ब बैंकिङ र औपचारिक माध्यमबाट आउने गरेको अनि अनौपचारिक रेमिटेन्स पनि त्यति नै भएको नेपाल इकोनोमिक फोरमको प्रतिवेदनमा उल्लेख छ । सरकारले ब्याज १२.५ प्रतिशत पुर्‍याए पनि हुन्डीको रेटलाई जित्न सक्दैन । साथै नेपालमा एक वर्षमा घूसको पैसा मात्रै दस खर्ब हुने गरेको छ । त्यसै त सुन र गहना पसलहरू बढेका होइनन्, जग्गाको मूल्य पनि त्यसै अकासिएको होइन । यही घुसको पैसाले अनौपचारिक तरलता प्रदान गरिरहेको छ । नत्र अहिलेसम्म केही बैंकहरू त डुबिसक्नुपर्ने ।

अर्थतन्त्र बन्यो राजनीतिक भकुन्डो

नेपाल राष्ट्र बैंकका गभर्नरलाई कारबाही गरेर अर्थमन्त्री र प्रधानमन्त्रीले अर्थतन्त्रलाई फुटबल ठानेर गोल गरेझैं आनन्द लिए । तर आईएमएफको कडा चेतावनी पनि आयो र सर्वोच्च अदालतले पनि फैसला सुनायो । यो चुनावी गठबन्धन सरकारमा राजनीतिक दलहरूको फाइदाविरुद्ध उभिएकाले गभर्नरलाई कारबाही गरिएको त स्पष्ट नै देखिन्छ । विभिन्न मन्त्रालय विभिन्न दलको पकडमा छन् र मन्त्रालयलाई पैसा छाप्ने भाँडो बनाउने चलन त पहिलेदेखिकै हो, पञ्चायतकालदेखिकै । अब सेटिङ नमिलेपछि फुटबल बनाइने त भैहाल्यो । संकट छ भनेर एकअर्कालाई दोष लगाउने बाटो पनि पाइयो ।

हाम्रो अगाडि के छ त ?

राष्ट्र बैंकको नौ महिनाको डाटा आयो, तथ्यांक विभागले समेत नेपालीहरूको आय वृद्धि भएको भन्यो । अन्तर्राष्ट्रिय संस्थाहरूको भनाइ पनि नेपालमा संकट छैन भन्ने छ र त्यस्तो भनाइ अध्ययन र रिसर्चमा आधारित छ । भोजभतेरमा कमी आएको छैन, सामाजिक खर्च जारी छ । खोइ कहाँ छ संकट ?

तर श्रीलंकाबाट के सिक्न सकिन्छ भने, आफूले भ्रष्टाचार गरेर अरूलाई भ्रष्टाचारी भन्ने संस्कृतिलाई संस्थागत गरे, दिगो विकासका विषयमा नसोचे र निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डमा होइन राजनीतिको आडमा चल्ने बनाए, संकट आएर भ्वाक्क हान्न समयचाहिँ नलाग्ने रहेछ ।
साभार: कान्तिपुर

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago