पर्यटनमन्त्री आले किन हात धोएर लागे के पि वलीको विरुद्धमा

२०७८, ५ चैत्र शनिबार १७:४४

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।

ओलीकै घमण्डका कारण वामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने पनि बताए ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अब घमण्ड गर्न नमिल्ने बताए । नेकपा (एकीकृत समाजवादी)का नेता रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए ।

‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो । प्रदेशको सरकार पनि गयो । अझै त्यो व्यक्तिले अब आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ । त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईटैलाई दाज्यौं भने अहंकारमा कुनै कमी छैन,’ उनले भने, ‘तपाईंहरु मूल्यांकन गर्नुहोस् । जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’

मन्त्री आलेले आगामी ३ वर्षभित्र सम्पन्न हुने गरी चलचित्र नगरी दोलखाका लागि आवश्यक बजेटको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।

Comments

ताजा खबर